काठमाडौँ, १० चैत । तपाईंले बारीमा लगाएको तरकारी छ वा फलपूल डोकोमा बोकेर ल्याउनुस् त्यसको सट्टामा बजारमा उत्पादित सामग्री बोकेर घर फर्कनुस्। संसारभर वस्तु बिनिमयका लागि मुद्राको प्रयोग भइरहेको बेला पर्वतको बिहादी गाउँपालिकमा भने परम्परागत रूपमा गाउँघरमा प्रचलनमा रहेको सामानको बदलामा सामान दिने (पैँचो) पसल शुरु भएको छ।
गाउँघरमा एउटाकोमा खाँचो पर्दा छिमेकीको घरबाट सापटी ल्याएर गर्जो टार्ने पुरानो चलन अहिले हराउँदै गएको अवस्थामा अन्नपात वा यस्तै सामानको बदलामा सामान नै फिर्ता दिने पुरानो चलनलाई आधुनिक र व्यावसायिक बनाउनकै लागि दक्षिण पर्वतको बिहादी गाउँपालिकास्थित एक गाउँमा पैँचो पसल शुरू गरिएको हो।
स्थानीय ३० किसानको संयुक्त प्रयासमा पैँचो पसल सञ्चालनमा ल्याइएको हो। अगुवा किसान रामप्रसाद पराजुलीको अध्यक्षतामा गठित स्वयंसेवी कृषक समूहले पसल सञ्चालनमा ल्याएको छ।
पसलमा स्थानीयस्तरमा उत्पादन हुने कृषिउपज किसानसँग लिएर बजारबाट आउने सामान फिर्ता दिइन्छ। त्यसबाहेक किसानले आफूले उत्पादन गरेकोबाहेक अरू खाद्यान्न तथा तरकारी आवश्यक परेमा छिमेकीले उत्पादन गरेको सामानसँग साटेर लिनसक्ने व्यवस्था छ। यो समाचार आजको नेपाल समाचारपत्र दैनिक पत्रिकामा लेखेको छ ।