राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइई स्थगन गर्नु परेकोमा क्षमा माग | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइई स्थगन गर्नु परेकोमा क्षमा माग

exam board

काठमाडौं, ६ चैत । राष्ट्रिय परीक्षा बोर्डले एसइई स्थगन गर्नु परेपछि विद्यार्थी र अभिभावकसँग क्षमा मागेको छ ।

आजदेखि सञ्चालन हुने गरी निर्धारण गरिएको परीक्षा अन्तिम समयमा आएर स्थगन भएपछि बोर्डले विज्ञप्ति जारी गर्दै विद्यार्थी र अभिभावकसँग क्षमा मागेको हो । बोर्डका सदस्य सचिव दुर्गा अर्यालद्वारा जारी विज्ञप्तिमा कोरोना भाइरसको विश्वव्यापी महामारीको अवस्थाप्रति सचेत हुँदै अन्तिम समयमा आएर परीक्षा स्थगन गर्नुपरेको उल्लेख छ ।

बोर्डले परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई एसइई परीक्षाका प्रश्नपत्र लगायतका गोप्य सामग्री र उत्तरपुस्तिकाको सुरक्षा गर्न निर्देशन दिएको छ भने सुरक्षा निकायलाई परीक्षाका सबै सामग्री सुरक्षाका लागि आग्रह गरेको छ । सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा एसइई बुधबार स्थगन गर्र्ने निर्णय गरेको थियो । विश्वव्यापी महामारीका रूपमा रहेको कोरोना भाइरस फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बुधबार साँझ बसेको सरकारको उच्चस्तरीय समन्वय समितिको बैठकले आकस्मिक निर्णय गर्दै एसइई परीक्षासँगै चैतमा हुने भनिएका सबै परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो ।