कोरोना भाइरसको केन्द्रविन्दु अब युरोप : डब्लूएचओ | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

कोरोना भाइरसको केन्द्रविन्दु अब युरोप : डब्लूएचओ

एजेन्सी, १ चैत । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाभाइरसको केन्द्रविन्दु अब युरोप भएको भन्दै सचेत गराएको छ ।

चीनको वुहानबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको चपेटामा अब युरोप परेको डब्लूएचओले जनाएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले अब विश्वव्यापी कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु युरोप भएको उल्लेख गर्दै मानवीय क्षति न्युन गर्ने आक्रामक उपाय अबलम्बन गर्न जरुरी रहेको बताएका छन्।

युरोपको इटाली, स्पेन र फ्रान्समा कोरोना भाइरस डरलाग्दो अवस्थामा फैलिरहेको भन्दै डब्लूएचओ चिन्ता व्यक्त गरेको छ । गत डिसेम्बरदेखि चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको संक्रमण १ सय ४५ देशमा देखिएको छ।

कोरोना भाइरसबाट विश्वभर १ लाख ४५ हजार ८ सय ८६ जना संक्रमित भएका छन् । चीनमा संक्रमणको दर कम हुँदै गए पनि युरोपेली मुलुकमा डढेलोझैं फैलिदा डब्लूएचओले यस्तो चेतावनी दिएको हो ।

चीनमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण १३ जनाको मृत्यु हुँदा अन्यत्र ४ सय ४२ जनाको मृत्यु भएको छ । ४ सय ४२ जनामध्ये अधिकांश युरोपकै छन् ।