काठमाडौं, ५ फागुन । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको फैसला आज सुनाउने भएको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासमा आइतबार मुद्दाको अन्तिम बहस सकिएकोमा आज फैसला सुनाइने भएको हो ।
आइतबार बहस सकिएपनि समय अभावका कारण फैसला सुनाउने काम आजका लागि सारिएको थियो । महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्यलगायका अधिवक्तहरुले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए ।
संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । महरा गत कात्तिक १८ देखि पुर्पक्षका लागि थुनामा रहेका छन ।