एजेन्सी, १ फागुन । कोरोनाका भाइरसको त्रासका कारण स्पेनको बार्सिलोनामा हुँदै आएको मोबाइल उत्पादक कम्पनीहरुको विश्व सम्मेलन ‘मोबाइल कंग्रेस’ यस वर्ष रद्द गरिएको छ । यही फेब्रुअरी २४ देखि २७ सम्म हुने भनिएको सम्मेलन एक दर्जनभन्दा बढी मोबाइल र अन्य कम्पनीहरुले कोरोनाको त्रास देखाउँदै आफ्ना प्रतिनिधि नपठाउने भएपछि रद्द भएको हो ।
कोरोनाको डरले रद्द भएको यो अहिलेसम्मको ठूलो समारोह हो । नोकिया, फेसबुक, डच टेलिकम, भोडाफोन ,इन्टेल, एलजी , सोनी र अमेजन लगायतले सम्मेलन सुरक्षित नभएको भन्दै आफ्ना प्रतिनिधि नपठाउने निर्णय गरेका हुन्। ती कम्पनीहरुले कोरोनाको खतराको मात्रा मापन गर्न नसकिएकाले मानिसको स्वास्थ्यलाई ध्यानमा राख्दै सहभागी नहुने निर्णय गरिएको जनाएका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
स्पेनमा हालसम्म कोरोनाका जम्मा दुईजना विरामी देखिएका छन् । स्पेनका स्वास्थ्यमन्त्रीले स्वास्थ्य संकटकाल घोषणा गर्न अस्वीकार गरिसकेका छन् । सम्मेलन रद्द हुँदा आयोजक र बार्सिलोना सहरलाई ठूलो आर्थिक घाटा हुने बताइएको छ ।
सम्मेलनमा चीनियाँ कम्पनी हुबावेका मात्रै ५ देखि ६ हजार कर्मचारी प्रतिनिधि उपस्थित हुने तयारी थियो । त्यसैको डरले अन्य कम्पनीहरु पछि हटेका हुन् ।