काठमाडौं, १५ माघ । राजधानीमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले सहज जित निकालेको छ ।
ललितपुरको सातदोवाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा मनाङले साविक उपविजेता संकटा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
मनाङको जितमा अन्जन बिष्ट र निशान लिम्बुले एक– एक गोल गरे । मनाङले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ४२ औं मिनेटमा संकटाका अमित तामाङको आत्मघाती गोलबाट मनाङले सुरुवाती अग्रता बनाएको थियो।
त्यसको एक मिनेट नबित्दै ४३ औं मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ७१ औं मिनेटमा निशानले डिबक्स नजिकैबाट उत्कृष्ट गोल गर्दै मनाङलाई ३–० को सहज जित दिलाए ।