महोत्तरी, ८ माघ । महोत्तरीका किसानहरु आजभोली खेतमा माछा पालनतर्फ आकर्षित भएका छन् । खेतमा धान खेती गर्दा मल, विउ र सिंचाई लगायतको समस्याबाट मुक्त हुने प्रयासमा उनीहरु माछापालनमा आकर्षित भएका हुन् । अहिले धान खेतमा माछा पालन गरी उनीहरुले मनग्य आम्दानी समेत गरिरहेका छन् ।
खेतीपातीबाट हुने समस्याबाट मुक्त हुन महोत्तरीका किसानहरुले धान खेतमा माछा पोखरी बनाएर ब्यवसायीक माछापालन थालेका हुन् । अहिले उनीहरु माछा व्यवसायबाटै हुने आम्दानीले घर परिवार राम्रोसंग चलाउन सफल भएका छन् ।
महोत्तरीमा एक हजार बिगाहा क्षेत्रमा फैलिएका पोखरीमा माछा पालन भइरहेको छ । महोत्तरीबाट मात्रै बर्षमा करीब ७० मेट्रीकटन माछा उत्पादन भईरहेको अनुमान छ । तर त्यो माछा कहाँ र कुन बजारमा बिक्री हुन्छ त्यसको लेखाजोखा छैन।

यस क्षेत्रमा उत्पादन भएका रेहु, भाकुर, सिल्भरकार्प, विगहेड जस्ता ७ प्रकारका माछाहरु जलेश्वर, बलवा, रामगोपालपुर, बर्दीवास लगायतका बजारहरुमा धेरै बिक्री हुन्छ । स्थानीय माछा ब्यापारीहरुले पोखरीमै पुगेर माछा किन्ने गर्छन् । तर रसायन प्रयोग गरिएका भारतबाट आएका माछाका कारण स्वदेशी माछाको ब्यापार घटेको छ ।
तराईका विभिन्न भूभागमा माछा पालन बढ्दो क्रममा छ । तर तराईमा बर्षेनी आउने बाढीले माछा सहित पोखरी बगाउँदा भने यहाँका किसानको लाखौको लगानी जोखिममा पर्ने गरेको छ ।




