वीरगन्ज, २२ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पर्साको नापी कार्यालयमा छापामारी सर्वेक्षकलाइ घुसको रकम सहित रङ्गेहात पक्राउ गरेको छ । अख्तियारको टोलीले नापी कार्यालयका सर्वेक्षक राम नरेश पासवानलाइ ७५ हजार घुसको रकम सहित सोमबार पक्राउ गरेको हो ।
अख्तियारका प्रहरी नायब उपरीक्षक केशव भट्टराईको नेतृत्वमा रहेको टोलीले वीरगन्ज-९, रानिघाटस्थित नापी कार्यालय पर्सा अन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयमा छापा मारेको थियो ।
सर्वेक्षक पासवानले आफ्नो जग्गा हाल साबिक गरी पुन नापी जग्गा धनी प्रमाण पुर्जा बनाइ दिने भनी सेवाग्राहीसँग ७५ हजार घुसको रकम लिइ रहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनु भयो ।
पक्राउ परेका सर्वेक्षक पासवानले कार्यालय समयपछि सेवाग्राहीलाई बोलाएर घुस लिएपछी रङ्गेहात पक्राउ गरिएको थियो । घुससहित पासवानलाइ आवश्यक कार्वाहीको लागि सर्जमिन मुचुल्ला उठाइ आयोगको कार्यालय हेटौंडा लैजाने भट्टराईले बताउनु भयो ।




