काठमाडौं, १३ पुस । संसदको विकास तथा प्रविधि समितिले सूचना तथा प्रविधिसम्बन्धि विधेयक बहुमतबाट पारित गरेको छ । आइतबारको समिति बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको फरकमत सहित विरोधकाबीच विधेयक बहुमतबाट पारित गरेको हो ।
समिति सभापति कल्याणी खड्काले विधेयक नियमावलीअनुसार पारित भएको बताउनुभयो । सभापति खड्काले विधिसम्मत रुपमा विधेयक पारित भएको हुँदा अन्य अर्थ नलगाउन कांग्रेस सांसदहरुलाई आग्रह गर्नुभयो ।
कांग्रेस सांसद बहादुरसिंह लामाले पारित भएको सूचना प्रविधि विधेयकले नागरिकको स्वतन्त्रता तथा मौलिक अधिकार हनन हुने र स्वतन्त्र पत्रकारिता माथि अंकुश लाग्ने भएकाले आफ्नो पार्टीले बिरोध गरेको बताउनुभयो ।
नेपाली कांग्रेसकै अर्का सांसद रामबहादुर विष्टले नागरिकको हक अधिकारको रक्षा गर्नेगरी विधेयक ल्याउँदा सबैलाई फाइदा हुने भनेर व्यापक छलफल गरिएपनि बेफाइदा हुनेगरी अगाडी बढ्नुको औचित्य नभएको उल्लेख गर्नुभयो ।
कांग्रेसले सामाजिक सञ्जालमा जिस्क्याउने, होच्याउने र हतोत्साहित गर्ने खालका विषयमा लेखिएका ५ वर्ष जेला वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधानमा आफ्नो असहमति जनाएको थियो । विधेयकमा रामाजिक संजाल फेसबुक, गुगल लगायत नेपालमा दर्ता हुनुपर्ने प्रावधान राखिएको छ ।