काठमाडौं, १२ पुस । साढे चार वर्षअघिको भूकम्पले कान्ति बाल अस्पतालको प्रशासनिक भवन चर्कियो । भवन विभागबाट खटिएका प्राविधिकले रातो स्टिकर टाँसिदिए । एक वर्ष बाहिरै टेन्ट टाँगेर प्रशासनिक काम चलाएको अस्पतालले पुनर्निर्माण नभएपछि यही जोखिमपूर्ण भवन प्रयोग गर्न थालेको छ ।
चर्किएको भवनमै फार्मेसी, चिकित्सक बस्ने कोठा, लाइब्रेरी र प्रशासनिक कोठाहरू छन् । विकल्प नहुँदा असुरक्षित भवन सञ्चालन गर्न बाध्य भएको अस्पतालका निर्देशक डा. आरपी बिच्छाले बताए । ‘भूकम्पले चर्काएर भवन डरलाग्दो बनाइदिएको थियो । त्यतिबेला यहाँभित्र कोही छिर्न मान्थेनन्,’ उनले भने, ‘प्वाल टालटुल पारेर, रङ लगाएर बाहिरबाट छोपेका छौं, भित्र भने भवन कमजोर छ ।’
कहिलेकाहीँ भूकम्पको धक्का आएका दिन अस्पतालका कर्मचारी त्रसित हुने गरेका छन् । चर्किएको यो भवन ४० वर्ष पुरानो हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले क्षतिग्रत भवन भत्काएर नयाँ बनाउने योजना बनाए पनि हालसम्म काम भएको छैन । गत साता प्राधिकरणको प्राविधिक टोली बोलाएर अस्पतालको जीर्ण भवनबारे जानकारी गराएको निर्देशक डा. बिच्छाले बताए । ‘भवनबारे प्रतिवेदन बनाएर हामीले स्वास्थ्य मन्त्रालयमा बुझाएका छौं,’ उनले भने, ‘यो भत्काएर नयाँ भवन बनाइदिने आश्वासन दिएका छन् ।’
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।