काठमाडौं, ५ पुस । अस्ट्रेलियामा विगत केही महिनादेखि फैलिएको डढेलोका कारण सिड्नी, ब्रिसबनलगायत क्षेत्र निकै प्रभावित भएका छन् । यो साता देशका प्रमुख सहरमा अत्यधिक गर्मी भएको छ । अनियन्त्रित डढेलोसँगैको गर्मी बढेपछि न्यु साउथ वेल्स सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको छ ।
दक्षिण अस्ट्रेलिया, न्यु साउथ वेल्स, भिक्टोरियालगायत क्षेत्रमा बुधबारयताको तापक्रम ४० डिग्रीभन्दा बढी छ । मौसम विभागको पूर्वानुमानसँगै स्थानीय थप त्रसित बनेका छन् । ती क्षेत्रमा तापक्रम ४४ डिग्रीसम्म पुग्ने मौसम विभागको अनुमानपछि उच्च सतर्कता अपनाइएको सरकारको भनाई छ ।
अस्ट्रेलियाको सिड्नीमा गत सेप्टेम्बरमा सल्केको डढेलोले अहिलेसम्म २७ लाख हेक्टर क्षेत्रमा क्षति पुर्याइसकेको छ । केही महिनाअघि ब्राजिलको अमाजन जंगलको डढेलोले भन्दा अस्ट्रेलियाको डढेलोले बढी क्षति पुर्याएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हाल अस्ट्रेलियाका सिड्नीलगायत क्षेत्रका सयभन्दा बढी स्थानमा डढेलो लागिरहेको छ । यसको नियन्त्रणका लागि भइरहेका सरकारी प्रयास खासै प्रभावकारी देखिएका छैनन ।
अस्ट्रेलियाली सञ्चारमाध्यमका अनुसार अनियन्त्रित डढेलोका कारण हालसम्म ६ जनाले ज्यान गुमाइसकेका छन् । ७ सयभन्दा बढी घर जलेर नष्ट भइसकेको छन् भने करिब १६ सय भौतिक संरचनामा क्षति पुगेको छ ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।