एजेन्सी, २३ मंसिर । भारत राजधानी नयाँदिल्लीस्थित एक गोदाममा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ४३ पुगेको छ भने अन्य ६० जना घाइते उपचार भइरहेको छ । आइतबार बिहान नयाँदिल्लीस्थित झाँसी रोडमा रहेको एक कारखानामा आगलागी भएको हो ।
सख्त घाइतेहरुको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । सहरका साँघुरो बस्तीमा आगलागी भएपछि निर्माण सामग्री र भण्डारण गरिएका सामग्रीका कारण आगो नियन्त्रण गर्न कठिन भएर धेरैतिर फैलिएको बताइएको छ । उद्योगमा काम गर्ने मजदुरहरु सुतिरहेका बेला चार पाँच तले भवनमा आगलागी भएको थियो । आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान भइरहेको उद्धारकर्ताहरुले जनाएका छन् ।
यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा भएको आगलागीका पीडितहरुलाई प्रारम्भिक राहतको घोषणा गरेका छन् । प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ दिनेगरी उनले राहतको घोषणा गरेका हुन् । आगलागीमा परी गम्भीर घाइते भएकाहरुलाई प्रतिव्यक्ति ५० हजार भारतीय रुपैयाँ उपलब्ध गराउने निर्णय पनि प्रधानमन्त्री मोदीले गरेका छन् ।