काठमाडौं, ३ कात्तिक । सरकारले चालु आर्थिक वर्ष दुई सय ४५ वटा नयाँ पुल निर्माण प्रक्रिया सुरु गर्ने भएको छ। यीमध्ये दुई सय १२ वटा स्थानीय र ३३ वटा रणनीतिक पुल छन्। यी पुललाई निर्माण प्रक्रियामा लान चार अर्ब रुपैयाँ विनियोजन भएको सडक विभाग पुल महाशाखाले जानकारी दिएको छ।
स्थानीयका लागि ३० करोड र रणनीतिक पुलका लागि तीन अर्ब ७० करोड रुपैयाँ विनियोजन भएको छ। हाल विनियोजना भएको रकमअनुसार प्रतिगोटा स्थानीय पुलको भागमा १३ लाख ८० हजार रुपैयाँ पर्छ। विगतदेखि नै सरकारको उपेक्षामा स्थानीय पुल पर्दै आएको छ। रातो किताबमा पुल पर्ने र त्यसका लागि पर्याप्त बजेट नछुट्याइँदा लामो समयदेखि स्थानीय स्तरमा निर्माणाधीन पुल समयमा सम्पन्न हुन सकेका छैनन्। विगतदेखि ठेक्का लागेका १२ सय ९३ पुल छन्। यीमध्ये धेरै पुल बजेट अभावमा समयमै निर्माण हुन नसकेका हुन्।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह बजेट सुनिश्चिता नगरी ठेक्का लगाउने परिपाटीले निर्माण ढिलो हुने गरेको बताउँछन्। सार्वजनिक खरिद (आठौं संशोधन) नियमावलीले बजेटको सुनिश्चिता नगरी ठेक्का लगाउन मिल्दैन भनेको छ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।