काठमाडौं, ४ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताउनुभएको छ । नेपाल शिक्षक महासंघद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले शिक्षक, पाठ्यक्रम तथा पाठ्यपुस्तकको सुधार गरी शिक्षाको सुधार गर्नुपर्ने बताउनु भएको हो ।
शिक्षकहरु केवल बालबालिकालाई औपचारिक ज्ञान दिने गुरु मात्रै नभएर समाज सुधारक र परिवर्तनका संवाहक रहेको उहाँको भनाई थियो ।
उपराष्ट्रपति पुनले भोलिको देश तथा समाज कस्तो बनाउने भन्ने कुरामा शिक्षकहरुको निकै महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आजको परिस्थिति तथा संसारलाई बुझेर त्यही अनुकूलको शिक्षण विधि अपनाएर आफ्ना विद्यार्थी तथा विद्यालयलाई उत्कृष्ट नतिजा ल्याउन निरन्तर क्रियाशील रहनु शिक्षकहरुको दायित्व रहेको धारणा राख्नुभयो ।




