काठमाडौं, २ असोज । नेपाल कम्युनिष्ट पार्टी,नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्ताबेज भएको दावी गर्नु भएको छ । संविधान दिवसको अवसर पारेर बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता नेपालले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्र भागमा राखेर नेपाली जनता आफैंले बनाएको नेपालको संविधान कार्यान्वयनमा इमान्दार भएर लाग्न पनि आग्रह गर्नु भयो ।
उहाँले संविधान कार्यान्वयनमा सबैले समर्पित भएर लाग्ने बेला आएको पनि स्पष्ट पार्नु भयो । संविधानमा व्यवस्था भए बमोजिम तल्ला तहका निकायहरुले कानुन निर्माण गर्न सक्ने÷नसक्ने बहसको विषय भएपनि अहिले भने संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्ने नेता नेपालको भनाई छ ।
उहाँले संविधान सभाबाट संविधान जारी गरेर नेपालले विश्वमै गर्व गर्न लायक काम गरेको पनि उल्लेख गर्नुभयो ।




