काठमाडौं, १९ साउन । १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता (साग) को तयारीको अनुगमन गर्न संसदीय उपसमिति पनि गठन गरिएको छ ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रको इज्जतसँग जोडिएको सो खेलकुद प्रतियोगिता सफल बनाउने गरी सरकारलाई आवश्यक निर्देशन दिन ५ सदस्यीय उपसमिति गठन गरेको हो । जीवनराज श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिनु भयो ।
बैठकमा समितिका सदस्यहरुले सो प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण र खेलाडीहरुको तयारीका लागि आवश्यक तालिम, प्रशिक्षणको उचित व्यवस्थापनको काममा तीव्रता दिन सरकारलाई सचेत गराउनु भएको थियो ।
समितिका अर्का सदस्य उमेश श्रेष्ठले सो खेलकुद प्रतियोगिताको तयारीका लागि अन्तराष्ट्रिय खेलकुद संघ, संस्थाहरुसँग सहयोग लिन पनि सरकारलाई सुझाव दिनु भयो ।
समितिका सदस्यहरुले खेलाडीहरुलाई आवश्यक पोषणको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएका थिए ।