काठमाडौं, ८ साउन । विभिन्न आठ वटा जघन्य अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका कपिलवस्तुको मायादेवी गाउँपालिका ४ पिपराका ४८ बर्षीय नसिम खा बादशाहलाई पुर्पक्षका लागि मंगलबार कारागार पठाइएको छ ।
जिल्ला अदालतको आदेशपछि उनलाई थुनामा पठाइएको हो । नसिमबिरुद्ध सात वटा कर्तव्य ज्यान र एउटा डाँका सम्बन्धी मुद्दा रहेको छ । न्यायधीस भरतमणि खनालको एकल इजलासले मुलुकी अपराध संहिता २०७४ को दफा ६७ सोही दफाको ८० अनुसार नसिमलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरिएको अदालतले जनाएको छ । यसअघि डाँका चोरी मुद्दामा अदालतले २०७२ फागुन ४ गते एक लाख ९१ हजार आठ सय ५२ रुपैयाँ जरिवाना र ६ महिना जेल सजाय समेत तोकेको थियो । मुद्दा लागे पनि राजनीतिक पहुँचका आधारमा नसिम लुकीछिपी बस्दै आएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालयको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको सिनामंगलबाट गत असार २१ गते पक्रेको थियो ।