विमल जैरु
डडेल्धुरा, २ साउन । डडेल्धुराको अजयमेरु गाँउपालिकामा खानेपानीको चरम अभावले स्थानीयहरु आजित भएका छन् । अजयमेरु गाँउपालिकाको वडा नं. ४, ५ र ६ का अधिकाँस गाँउ र बस्तीहरुमा खानेपानीको अभावले त्यहाँका बासिन्दाहरुको जीवन कष्टकर बनेको हो ।
डडेल्धुराको अजयमेरु गाँउपालिकामा खानेपानीको अभाव हुन थालेपछि स्थानीयहरुको जीवन कष्टकर बनेको छ । खानेपानीको धारोमा पानी नआउने मुहानहरु सुक्दै जाने जस्ता समस्याहरुले अजयमेरु गाँउपालिकाका बासिन्दाहरु खानेपानीको अभावले आजित भएका हुन् । अहिले अजयमेरु गाउँपालिका वडा नं.४ ५ र ६ का अधिकांश गाउँ र बस्तीहरुमा खानेपानीको चरम अभाव भएको छ ।
पुरातात्विक सम्पदा तथा पर्यटकिय सम्भावना बोकेको साबिक देवलदिब्यपुर गाविस तथा हालको अजयमेरु गाउँपालिका वडा नं.४ ५ र ६ को गाल मटेला भण्डारी गाउँ , झिङनी ,राजुल ओडिगाउँ लगायतका गाउँहरुमा खानेपानीको अभाव भएको हो । खानेपानी नआउने आए पनि शुद्ध नआउने, महिलाहरु केही लिटर पानीका लागि रातभर लाग्नु परेको गुनासो छ ।
अध्ययन विनाको सडक निर्माण कार्य , जलबायु परिवर्तनको प्रभाब र संरक्षणको अभाव तथा आवश्यक योजनाको तर्जुमा नभएकाले पानीको समस्य वर्षेनी बढ्दै गईरहेको छ । पानी कै समस्याका कारण पनि धेरै स्थानीयहरु बसाइँसराई गरी जान समेत बाध्य भएका छन् ।
खानेपानीको माग प्रमुख रहेको भन्दै जोखिमपुर्ण क्षेत्रमा लिफ्ट तानेर वा संभावना भएको मूलबाट भए पनि खानेपानीको समस्या सम्बोधनका लागि प्रयासरत भएको अजयमेरु गाउँपालिकाका उपाध्यक्ष कलावती कुमारी भाँडले जानकारी दिनुभयो ।
खुला दिसामुक्त घोषणा भएको डडेल्धुरा जिल्लाका विभिन्न स्थानहरुमा खानेपानीको समुचित सुबिधा नहुँदा ग्रामिण क्षेत्रका सर्वसाधारणहरु दोहोरो बस्ती विकास गर्न बाध्य भएका छन् । शुद्ध खोनपानीको सुविधा हरेक नागरिकको हक हो । खानेपानीको सविधा दिनका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।