बुटवल, १५ असार । बर्दियाको बारबर्दिया नगरपालिकाकी उपप्रमुख अञ्जु दहितले सशस्त्र द्वन्द्वका बेला कष्टकर जीवन बिताइन् । सादा जीवनशैली र भूमिहीनका पक्षमा वकालत गरिन् । आफ्ना नाममा केही सम्पत्ति नभएकी उनले शान्ति स्थापनापछि भने घरघडेरी जोडेकी छन् ।
जनप्रतिनिधि बनेपछि स्कुटरमा हिँड्न थालेकी छन् । बारबर्दिया–११, फचकवाकी उनीसँग पुर्ख्यौली ७ कट्ठा जग्गा छ तर बाँकेको कोहलपुरमा सुकुम्बासीका नाममा १० धुर जग्गा प्राप्त गरेकी छन् । त्यसबाहेक कोहलपुरमा दुई तलाको घर किनेकी छन् ।
‘३० जनाको संयुक्त परिवार हुँदा १३ बिघा जमिन थियो, बुबाका तीन भाइ छुट्टै बस्न थालेपछि अंशबन्डा हुँदा मेरो भागमा ७ कट्ठा पर्यो,’ उनले भनिन्, ‘कोहलपुरमा अर्धपक्की घर छ । त्यसबाहेक सम्पत्ति जोडेकी छैन ।’ उनका श्रीमान् गोपाल शर्मा रुकुम पश्चिमबाट प्रदेशसभा सदस्य छन् ।
विगतमा सर्वहाराका पक्षमा राजनीति गरेका नगर र गाउँपालिकाका वडाध्यक्षले समेत वर्षमा दुईरतीनवटा मोटरसाइकल फेर्न भ्याएका छन् । तीमध्येका एक हुन्, बढैयाताल–४ का वडाध्यक्ष कर्णबहादुर थापा । उनी पूर्वमाओवादीबाट वडाध्यक्ष चुनिएका थिए । उनले आवश्यकताअनुसार मोटरसाइकल फेरेर प्रयोग गरिरहेको स्विकारे । ‘सामान्य अवस्थामा र पहाड जान परे फरकफरक मोटरसाइकल लैजान्छु,’ उनले भने, ‘आवश्यकताअनुसार मोटरसाइकल चढेको छु ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।




