तेजना पण्डित
काठमाडौं, ५ जेठ । नेकपा गठन भएको एक वर्षपछी जनबर्गीय संगठनहरुको एकता घोषणा गरिएको छ । संयोजक र सहसंयोजक गरि दुइ पदाधिकारी तोकेर संगठनको एकताले पूर्णता नपाउँदै संगठनमा असन्तुष्टी बढेको छ । विद्यार्थीहरुले अनेरास्ववियूको एकतामा विधिको पालना नभएको तथा सबै संगठनको एकतामा समानुपातिक व्यवस्थापन हुन नसकेको भन्दै नेतृत्वको आलोचना गर्न थालेका छन् ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भई गत वर्षको जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो । (नेकपा) स्थापना भएको एक बार्षिकोत्सवमा जनवर्गीय संगठनहरुका संयोजक र सहसंयोजक तोक्दै एकता टुंग्याएको दावी नेतृत्वले गरेको छ ।
तर, पार्टी नेतृत्वले एकता टुंगिएको दावी गरिरहँदा जनवर्गीय संगठनमा भने निराशा फैलिएको छ । पार्टी एकताको एकबर्षसम्म अन्योलमा बसेका जनवर्गीय संगठनका नेता कार्यकर्ता एकता टुंगिदा विधि र प्रक्रियाको प्रयोग गलत रुपमा भएपछि निराशा भएका हुन् ।
सबैभन्दा प्रभावशाली मानिने विद्यार्थी संगठनको अनेरास्ववियूको एकतामा अध्यक्षद्वयले मनोमानी गरेको भन्दै विद्यार्थी नेताहरु आक्रोसित छन् । हरेक संगठनका लागि बनेका विभागीय कार्यदलले दिएको सुझाव, देशैभर सबै संगठनमा स्थापित गरेको मापदण्ड विपरित हुनेगरी अनेरास्ववियूको महासचिवको नेतृत्वमा क्रान्तिकारीका अध्यक्ष रहने गरी एकता गरेसँगै अध्यक्ष रञ्जित तामाङ आफै रहने नरहने भन्दै अध्यक्षसँग वार्ता गरिरहेका छन् ।
त्यसबाहेक अनेरास्ववियू र क्रान्तिकारी दुबैतर्फ असन्तुष्टी बढिरहेको छ । उनीहरु त्यसबाहेक संगठनहरुमा समानुपातिक समावेसी प्रतिनिधित्वका विषयमा समेत प्रश्न उठाइरहेका छन् ।
नेकपाको जिल्ला तहमा पनि अध्यक्ष र सचिवको नाममात्र तोकिएको छ भने पोलिटब्युरो संख्याको भागवण्डा मात्र मिलेको छ । केन्द्रीय कमिटि बनेको त छ तर, जिम्मेवारी बाणफाँट भएको छैन । केन्द्रीय कमिटिको एउटा बैठक समेत बसेको छैन ।
स्थायी कमिटिको बैठक बसेपनि उनीहरुका जिम्मेवारी बाणफाँट भएकै छैन । नेताहरु पार्टीभन्दा गुट बलियो बनाउन लागेको कारण यस्तो समस्या आएको कार्यकर्ताको बुझाई छ । उनीहरु जनवर्गीय संगठन र स्थानीय तहमा एकतालाई पूर्णता दिने जिम्मा सम्बन्धित संगठनलाई दिएमा एकताको पूर्णता सहज हुने बताउँछन् ।
गतवर्ष एक भएर तीन महिनामा एकता टुंग्याउने भनेको नेकपामा एकवर्ष लगाएर एकता अघि बढाइएको छ । अस्वभाविक रुपमा भएको ढिलाईले निराश भएका नेता कार्यकर्ता एकतामा अध्यक्षद्वयको मनोमानीले थप निराश बनिरहेका छन् ।