काठमाडौं, ५ बैशाख । मलेसियामा भएको आईसीसी अण्डर नाइन्टीन विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । बिहिबार भएको खेलमा नेपालले कुवेतलाई ८ विकेटले हराएको हो ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले १९ ओभर ४ बलमा अलआउट हुँदै १५७ रन बनाएको थियो ।
कुवेतलाई पराजित गरेपनि नेपाल विश्वकपमा छनोट हुन सकेन । नेपालले दोस्रो स्थानमा रहेर छनोट खेल सकाएको छ । नेपालले ५ खेलमा ४ जित र एक हारसहित ८ अंक जोड्यो ।
सात पटक विश्वकप खेलिसकेको नेपाल चौथो पटक विश्वकपमा पुग्न असफल भएको छ । यस अघि नेपालले सन् २०१८, २०१४ र २०१० मा विश्वकप खेल्ने अवसर गुमाएको थियो ।
छनोटमा सुखद सुरुवात गरेको नेपालले पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । तर, दोस्रो खेलमा बर्षा बाधक बन्दा नेपाल युएईसंग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको थियो । उक्त हार नै नेपाललाई बिश्वकपमा पुग्नका लागि सबैभन्दा घातक बनेको थियो ।यस्तै नेपालले तेस्रो खेलमा मलेसियालाई ८ विकेट र चौंथो खेलमा ओमानलाई १५० रनले हराएको थियो ।