काठमाडौं, २१ चैत । संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तीका लागि सिफारिस ५ जना न्यायाधिशविरुद्ध उजुरी आह्वान गरेको छ ।
समितिको बिहीबार बसेको बैठकले न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधिशका लागि सिफारिस गरेका पाँचै जना न्यायाधिशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । चैत्र १८ गते सोमबार बसेको न्याय परिषद बैठकले पूर्व महान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, उच्च अदालत, पाटनका मुख्य न्यायाधिश प्रकाश ढुंगाना, उच्च अदालत, सुर्खेतकी मुख्य न्यायाधिश सुष्मालता माथेमा र अधिवक्ता मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधिश नियुक्तीका लागि सिफारिस गरेको थियो । प्रस्तावित सर्वोच्च अदालतका पाँचै जना न्यायाधिशको सुनुवाईका लागि उजुरी आह्वान गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
समितिले १० दिन भित्र आह्वान गरिएको उजुरी माथि छानवीन गरी प्रस्तावित न्यायाधिशहरुको सुनुवाई गर्नेछ । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले न्यायाधिशहरु नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।