भिआपीको पछुवा गाडीले ठक्कर दिएपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

भिआपीको पछुवा गाडीले ठक्कर दिएपछि…

vip ko gadile thakkar

काठमाडौं, १७ चैत । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलको बा१झ ९५२७ नम्बरको पछुवा गाडीले शुक्रबार साँझ बबरमहलबाट बानेश्वरतिर जाँदै गरेको बा४५प ३२३४ नम्बरको स्कुटरलाई ठक्कर दियो। स्कुटर चालक सन्तोष कुँवर र त्यसमा सवार उनकी श्रीमती लडे तर ठक्कर दिने त्यो गाडीले भने कुनै ‘रेस्पोन्स’ गरेन। लडेकालाई उठाउनुपर्ने ‘जिम्मेवारी बोध’ प्रदर्शन गर्नुको सट्टा घटनाको बेवास्ता गर्दै आफ्नै गतिमा अघि बढ्यो त्यो गाडी।

कुँवर दम्पतीलाई सामान्य चोट लागेको छ। ‘खुट्टामा सामान्य चोट लागेको थियो, हामीले नजिकैको मेडिकल सेन्टरमा गएर उपचार गरायौं,’ स्कुटर चालक कुँवरले भने। उदयपुर स्थायी घर भएका उनी बानेश्वरस्थित सुपा देउराली गेस्टहाउसका सञ्चालक हुन्। शनिबार दिउँसो २ बजेतिर साथीले घटनाको भिडियो सामाजिक सञ्जालमा आएको बताएपछि कुँवरले महानगरीय प्रहरी वृत्त बानेश्वर पुगी आफूलाई केही नभएको जानकारी गराएका थिए। उनी सम्पर्कमा पुगेलगत्तै प्रहरीले पूर्वप्रधानमन्त्री चन्द र सशस्त्र प्रहरी बललाई त्यसबारे खबर गरेको थियो। पछुवा गाडीमा सशस्त्र प्रहरी थिए।

काभ्रेका सन्जीव तामाङ लामाले शुक्रबार राति भिडियो आफ्नो फेसबुकमा ‘पोस्ट’ गरेका थिए। त्यसपछि मात्र सशस्त्र प्रहरी बलले घटनाप्रति चासो व्यक्त गरेको थियो। सशस्त्र प्रहरी बलले तत्कालै सो गाडीका चालकलाई हल्चोक बोलाएर अनुसन्धान गरिरहेको छ। ‘हामीले बिहान थाहा पायौं, त्यसकारण चालकलाई बोलाएर अनुसन्धान गरिरहेका छौं,’ सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरज श्रेष्ठले भने।

पूर्वप्रधानमन्त्री चन्दले शनिबार अपराह्न ५ बजेतिर स्कुटर चालक दम्पतीलाई आफ्नै निवास लोकन्थलीमा बोलाएर भेटेका थिए। आफूले घटनाबारे भिडियो हेरेर थाहा पाएको र घटनाप्रति दुःख व्यक्त गर्दै चन्दले कुँवर दम्पतीसँग माफीसमेत मागेका थिए। ‘उहाँले हामीलाई घरमा बोलाउनुभयो, केही भएको भए उपचार गर्छु भन्नुभयो, गल्ती भयो, मैले पनि बिहान मात्रै थाहा पाएँ,’ चन्दको भनाइ उद्धृत गर्दै कुँवरले भने। तर आफूहरूले यसलाई सामान्य रूपमा लिएको र घाउ पनि सामान्य नै लागेको प्रतिक्रिया दिएको कुँवरले बताए।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);