काठमाडौं, १३ चैत । सरकारले ‘नेपाल लगानी सम्मेलन’को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अर्थमन्त्री एवम् नेपाल लगानी सम्मेलन मूल समारोह समितिका संयोजक डाक्टर युवराज खतिवडाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चैत्र १५ र १६ गते आयोजना हुने सो सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् ।
सम्मेलनमा विभिन्न ४० मुलुकका उच्च स्तरीय प्रतिनिधिमण्डललगायत ६ सय भन्दा बढि विदेशी लगानीकर्ताहरुको उपस्थिति रहनेछ । त्यसैगरि सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गरिने तयारी गरिएको पनि अर्थमन्त्री खतिवडाले बताए ।
दुई दिने सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवम् शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्नेछ ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुकमा विदेशी लगानी भित्रयाउन सम्मेलन सफल हुने विश्वास व्यक्त गरिन् । उनले सरकारले मुलुकले समृद्धिको अभियान सुरु गरेकाले त्यसमा आफूहरुले पनि साथ दिँदै आएको उल्लेख गरिन् ।
त्यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा लगानी भित्रयाउन आफूहरुले पनि सो सम्मेलनका लागि आवश्यक सहयोग गरिरहेको बताए ।
सम्मेलनबाट मुलुकको समृद्धिका लागि आवश्यक लगानी भित्र्याउन सफल हुने विश्वास गरिएको छ । सरकारले यस अघि २०७३ सालमा पनि लगानी सम्मेलन आयोजना गरेको थियो ।