काठमाडौं, २५ फागुन । गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका हतियार खोज्न देशभरिका प्रहरी कार्यालयमा सर्कुलर गरेको छ। तत्कालीन सशस्त्र द्वन्द्वमा सुरक्षा निकायबाट लुटिएका हतियार विप्लवसँग अझै रहेको आशंका प्रहरीको छ।
‘द्वन्द्वमा कति हतियार लुटियो एकिन तथ्यांक छैन, तर लुटिएका हतियार अझै विप्लवको पार्टीसँग रहेको आशंका छ’, गृह मन्त्रालयका एक अधिकृतले भने, ‘प्रहरीले गोप्य निगरानीमा हतियार कब्जामा लिन थालेको छ।’ सबै माओवादी एक हुँदा शान्ति सम्झौतापछि हतियार राज्यलाई बुझाएका थिए। तर पटकपटक बेवारिसे अवस्थामा हतियार बरामद हुँदै आएका छन्।
कपिलवस्तुको प्रहरी र सशस्त्रको संयुक्त टोलीले बुधबार राति विशेष अपरेसन गरी दुर्गाबहादुर रोक्कालाई पक्राउ गरेको छ। उनको घरबाट एसएमजी राइफल २ थान, त्यसको ६८ राउन्ड गोली र म्यागजिन ३ थान, ५४ टाइप पेस्तोल १ थान र त्यसको म्यागजिन १ थानसहित ३ राउन्ड गोली, ५.५६ क्यालिभरको गोली १ सय ३१ राउन्ड, बम बनाउने सामाग्री र रिमोट समेत बरामद गरेको छ। यी हतियार द्वन्द्वकै बेला लुटिएको आशंका प्रहरीको छ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।




