काठमाडौं, ८ फागुन । गृहमन्त्री रामबहादुर थापाले मुलुकको शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको दाबी गरेका छन् । बुधवार राष्ट्रियसभाको सुन्य र विशेष समयमा सांसदहरुले उठाएका समसामयिक विषयका जानकारी गराउदै उनले शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको दाबी गरेका हुन् ।
गृहमन्त्री थापाले कंञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नहरुको खोजी भईरहको तथा अपराधी पत्ता लगाउन उदासिनता देखाउने प्रहरीमाथि पनि कारवाही भएको बताए ।
गृहमन्त्री थापाले सुन तस्करीको सञ्जाललाई ध्वस्त पार्न सरकारले ठूला माछालाई जालमा पार्न सफल भएको र केही जाल बाहिर रहेको भन्दै उनीहरुलाई समेत कानूनी दायरामा ल्याइने बताए ।
उनले यातायात क्षेत्रको सिण्डिकेट पनि कानूनी रुपमा अन्त्य भईसकेको दाबी गर्दै अन्य क्षेत्रमा देखिएको सिण्डिकेट पनि अन्त्य गर्दै लगिने स्पष्ट पारे ।