एजेन्सी, १९ माघ । भेनेजुयलामा लामो समयदेखि सरकार विरोधी प्रदर्शन जारी रहेको छ । यसअघि विरोध प्रदर्शनमा सहयोग गरेको भन्दै भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोको सरकारले अमेरिकी कुटनीतिज्ञहरुलाई भेनेजुयला छोडन आदेश दिएको थियो ।
भेनेजुयलाको सरकारको विरोध र पक्षमा प्रदर्शन जारी रहेको समयमा त्यसले भेनेजुयलालाई मात्र प्रभाव पारेको छैन त्यसको प्रभाव विश्वका अन्य राष्ट्रहरुमा समेत देखिएको छ ।
भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरा तथा विपक्षी नेता गोइदोको समर्थन विश्वका शक्ति राष्ट्रहरु विभाजित हुँदा त्यसको असर विश्वव्यापी देखिएको हो ।
भेनेजुयलामा सरकार विरोधी प्रदर्शन जारी रहदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसका नेतृत्वकर्ता विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको रुपमा मान्यता दिएका थिए । त्यस लगत्तै प्रदर्शन कर्ता तथा अमेरिकी कुटनीतिज्ञप्रति कडा रुपमा प्रस्तुत भएको भेनेजुयलाको सरकार प्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिँदै भेनेजुएलास्थित अमेरिकी कूटनीतिज्ञ वा विपक्षी नेता गोइदोविरुद्ध कुनै पनि प्रकारको हिंसा वा धम्की भए त्यो सह्य नहुने यस अघि नै बताइसकेका छन् ।
त्यसो त अमेरिका मात्र होइन अमेरिका निकट बेलायत, जर्मनी, स्पेन लगायतका मुलुकले मडुरोलाई एक हप्ता भित्र नयाँ चुनावको घोषणा गर्न ‘अल्टिमेटम’ दिएका छन् । चीनले भने भेनेजुयलामा अमेरीकी हस्तक्षेपको विरोध गर्दै त्यसले ल्याउने दुस्परिणामको अमेरिका जिम्मेवार हुनुपर्ने चेतावनी दिएको छ ।
आर्थिक रुपमा कमजोर रहेको भेनेजुयला भित्रको संकट समाधान भन्दापनि त्यसको पक्ष र विपक्षमा विश्वका शक्ति राष्ट्रहरु विभाजित हुनु तथा त्यसलाई पछ्याउँदै अन्य देशहरुलेपनि समर्थन र विरोधमा आवाज उठाउँदा त्यहाँको संकटले विश्वव्यापी प्रभाव छोड्ने विश्लेषकहरुले बताएका छन् ।
भेनेजुयलामा हजारौं व्यक्ति विरोध प्रदर्शनमा उत्रिएका छन् । यसअघि गोइदोले भेनेजुयला प्रदर्शनमा आफैलाई कार्यकारी राष्ट्रपति घोषित गरेका थिए । यसै महिनाको सुरुमा मादुरोले राष्ट्रपतिको रुपमा आफ्नो दोस्रो कार्यकालका सपथ लिएका थिए ।
निर्वाचनका क्रममा उनले धाँधली गरेको आरोप लाग्दै आएको छ । धाँधली गरेको भन्ने भेनेजुयलाको विपक्षी दलको आरोपलाई अमेरिका लगाएतका देशहरुले समर्थन गर्दै आएका छन् । उता चिन लगाएतका देशले भने राष्ट्रपति मदुरोको समर्थन गरिरहेका छन् ।
भेनेजुयलामा मदुरोले शासनसत्ता सम्हालेसँगै केही बर्षयता आर्थिक संकटबाट गुज्रिरहेको छ । बढ्दो महंगी, खाना र औषधिको अभावमा लाखौं व्यक्ति भेनेजुयलाबाट पलायन भएका छन् । राष्ट्रपति मदुरोका समर्थकहरु पनि सडकमा उत्रिएका छन् ।
प्रदर्शनका क्रममा केही व्यक्तिको मृत्युसमेत भएको जनाइएको छ । अमेरिकी सरकारले भेनेजुयलाको सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको विरोधमा अमेरिका विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएको राष्ट्रपति मदुरोको सरकार भेनेजुयलामा कार्यरत अमेरिकी कुटनीतिज्ञ विरुद्धपनि कडा रुपमा प्रस्तुत हुँदै आएको छ ।
लामो समयदेखि भेनेजुयलामा जारी सरकारको पक्ष विपक्षमा भैरहेको प्रदर्शनले तथा त्यसको समर्थन र विरोधमा विश्वका अन्य विभिन्न देशहरु लागिरहँदा त्यसले भेनेजुयलाको संकट समाधान भन्दापनि संकटलाई वढावा दिने काम भैरहेको विश्लेषकहरुको भनाई रहेको छ ।
भेनेजुयलामा जारी संकट उसको आफ्नो मात्र सरोकारको विषय हुनुपर्ने भएपनि सरोकार र सम्बन्ध नभएको भेनेजुयलामा शक्ति राष्ट्रहरुको आआफ्नै स्वार्थको खिचातानीमा पर्दा त्यहाँको संकट समाधान तर्फ अघि वढ्न नसकेको बताइएको छ । त्यहाँको संकट समाधानका लागि राष्ट्रपति मदुरो तथा विपक्षी नेता गोइदोले कस्तो कदम चाल्छन त्यसका लागि भने केहि समय पर्खनुपर्ने छ ।




