अस्ताए ‘घाँस काट्ने...’ गायक बुद्धिकृष्ण | ईमाउण्टेन समाचार

Our Network

साउन १३ २०८३, बिहीबार

अस्ताए ‘घाँस काट्ने…’ गायक बुद्धिकृष्ण

buddhi lamichane

भक्तपुर, १४ पुस । लोकगायक बुद्धिकृष्ण लामिछाने हास्य कलाकार जितु नेपाललाई भेट्दा आफूलाई पनि विदेशमा हुने कार्यक्रममा लैजान आग्रह गर्थे। रेडियो नेपालमा नियमित भेट भइरहँदा बुद्धिकृष्ण जितुलाई विदेशको स्टेजमा पनि गीत गाउने चाहना राख्थे। तर उनको चाहना अब कहिल्यै पूरा हुने छैन।

‘काठे भाका’ का गीत रचना गरी आफैंले गाएर जनमानसमा प्रिय बनेका यिनै गायक बुद्धिकृष्णको शुक्रबार दिउँसो ६६ वर्षको उमेरमा निधन भएको छ। चाँगुनारायण नगरपालिका–७ बागीश्वरीस्थित आफ्नै घरमा दिउँसो १२ बजेर १० मिनेट जाँदा उनको निधन भएको परिवारले जनाएको छ।

बुद्धिकृष्णको निधनको खबर सुनेपछि जितुले फेसबुकमा ‘जसलाई मैले गायकबाट कलाकार पनि बनाएँ। मेरो सानो अनुरोधलाई स्वीकार गरेर दाइले ‘जिरे खुर्सानी’ को १० देखि १५ भागसम्म अभिनय गर्नुभयो। विदेशमा कार्यक्रम गर्न जाने दाइको धेरै ठूलो धोको थियो। मैले पहल गर्छु पनि भनेको थिएँ। तर असफल भएँ। मलाई यो कुरा सधै खड्किरहन्छ। घाँस काट्ने खुर्केर गयो जोवन रोग लागेर।’

‘मसँग भेट हुँदा मलाई पनि विदेशमा गएर कार्यक्रम गर्न मन छ जितु बाबु भन्नुहुन्थ्यो। मैले दाजु म प्रयास गर्छु मात्र भन्थें। किनकि मेरो आर्थिक अवस्था पनि कमजोर थियो। उहाँलाई विदेश लैजान नपाएको थकथकी लागिरहेको छ’, जितुले भने, ‘उहाँ सरल मान्छे हुनुहुन्थ्यो। उहाँको त्यही बानीबाट प्रभावित भएर मैले ‘जिरे खुर्सानी’ मा अभिनयको प्रस्ताव पनि राखें। उहाँले सुरुमा त म सक्दिनँ होला भन्नुभयो। तर ‘जिरे खुर्सानी’ मा काम गर्न थालेपछि उहाँलाई गायकमात्र होइन, एउटा राम्रो कलाकारका रूपमा पनि चिनें।’

बुद्धिकृष्णको शुक्रबार नै दाहसंस्कार गरिएको छ। चाँगुनारायण नगरपालिका–७ वागीश्वरीस्थित वाल्मीकेश्वर घाटमा उनको दाहसंस्कार गरिएको हो। बुद्धिकृष्णको शवलाई दिउँसो सबा तीन बजे उनका जेठा छोरा सुवेगले दागबत्ती दिएका थिए। २००९ सालमा जन्मेका उनी झन्डै दुई वर्षदेखि बिरामी थिए। उनलाई प्यारालाइसिस भएको थियो। उनी यसअघि हिँडडुल गर्न र बोल्नसमेत असमर्थ रहेको परिवारले जनाएको छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार