काठमाडौं, ७ पुस । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको साउन १० गते बलात्कारपछि हत्या भयो। घरबाट साथीकहाँ गृहकार्य गर्न निस्केकी भीमदत्तनगर नगरपालिका–२ की १३ वर्षीया निर्मलाको शव साउन ११ गते गाउँकै उखुबारीमा भेटियो। घटनाको जानकारी पाएपछि वडा प्रहरी कार्यालयबाट इन्सपेक्टर जगदीश भट्टको टोलीले घटनास्थल जाँच प्रकृति मुचुल्का संकलनमै गम्भीर लापरबाही गर्यो।
उखुबारीस्थित पानीमा घोप्टो अवस्थामा निर्मलाको शव भेट्टिएपछि क्राइम सिनको न कुनै संकेत नै राखियो, न सर्वसाधारणको प्रवेश नै रोकियो। उल्टै प्रहरीले निर्मलाका सुरुवालसहितका कपडा पानीले पखाल्यो। त्यतिमात्रै होइन निर्मलाको भेजिनल स्वाबसहितका प्रमाण संकलनमा पनि लापरबाही भएको प्रहरी नेतृत्वले नै स्वीकार गरेको छ। निर्मलाको शरीरमा पीडकहरूले छाडेका बीर्यसहितका अन्य प्रमाण पनि नष्ट गरिएको निचोड एआईजी धीरु बस्न्यात नेतृत्वको समितिले गरिसकेको छ।
राजधानीमै भएको बलात्कारको घटनामा पनि प्रहरीले निर्मलाको केशमा जस्तै लापरबाही गरेको आरोप पीडित पक्षले लगाएको छ। २०७४ मंसिर २ गते ललितपुरको गोदावरी नगरपालिकास्थित गोदामचौरमा २१ वर्षीया विवाहित युवती बलात्कृत भइन्। महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी गौतम मि श्रका अनुसार कामबाट घर फर्किरहेकी ती युवतीमाथि उनकै गाउँका रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरले सामूहिक बलात्कार गरेका थिए। ललितपुरको यो घटनामा पनि प्रहरीले महत्वपूर्ण प्रमाण नष्ट गर्ने गरी अनुसन्धानमा लापरबाही गरेको भेटियो।
प्रहरीले प्रमाण मेटेकाले न्याय नपाएको घटना राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी पनि पर्ने गरेका छन्। आयोगकी प्रवक्ता मोहना अन्सारीका अनुसार प्रहरीले विशेषतः महिला हिंसा र बलात्कारका घटनामा नियतवश प्रमाण मेटेका घटनाबारे आयोगमा उजुरी पर्ने गरेका छ। रामेछापको सुन्तली प्रकरण र निर्मला पन्त प्रकरण त प्रतिनिधि घटना मात्रै भएको उनले बताइन्।
‘प्रहरीले नियतवश प्रमाण मेटेका कैयौं उजुरी हामीकहाँ आएका छन्, बलात्कारका घटनालाई तोडमोड गरी हत्यामा रूपान्तरण गरेका दृष्टान्त पनि हामीसँग छन्’, उनले भनिन्, ‘रामेछापको सुन्तलीमाथिको घटनामा बलात्कारको पाटोलाई प्रहरीले ‘गायब’ बनाउँदै हत्यामा मात्रै मुद्दा चलाएको प्रमाण हामीसँग सुरक्षित छ।’
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।