सेतोचिनी चोरी-निकासी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

सेतोचिनी चोरी-निकासी

1 seto chini

जाजरकोट, ८ कात्तिक । जिल्लाका विभिन्न लेकबाट बहुमूल्य जडीबुटी सेतोचिनी चोरी–निकासी भएको छ  । स्थानीय बासिन्दा र सरोकारवालाको मिलेमतोमा बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र नलगाड नगरपालिकाका लेकबाट सेतोचिनी संकलन र निकासी भएको हो  ।

बारेकोटको मुसे, चाखुरे, कोटे, कालीमुरी, दियाबाल्न, देउरालीपाटन, ठाकुरजी, कराइचुला, खुम्बु, कुशे गाउँपालिकाको रातापाटन, भीमपोस्तक, बाङ्गाडाँडा, ब्युलीढुंगा, सरुकाँद, चाल्नेचौर, कुशेपाटन र नलगाड नगरपालिकाको सिउन, रूप, मंसिरीलगायत लेकबाट सेतोचिनी चोरी–निकासी भएको छ । डिभिजन वन कार्यालयको इजाजत र संकलन पुर्जीबिनै ती लेकबाट एक लाख क्विन्टलभन्दा बढी परिमाणको सेतोचिनी निकासी भएको स्रोतको दाबी छ ।

पाटनमा सेतोचिनी काँचो (नसुकाएको) प्रतिकिलो ३० रुपैयाँ र पकाएर सुकाएको प्रतिकिलो एक हजारका दरले बिक्री हुने गरेको जडीबुटी व्यवसायी दानबहादुर शाहीले बताए । पाटनमा एक जनाले दैनिक दुई सय किलोसम्म सेतोचिनी संकलन गर्न सक्ने उनको भनाइ छ ।
उनका अनुसार असोज पहिलो सातादेखि तेस्रो सातासम्म ६र७ हजार स्थानीयले विभिन्न लेकमा पुगेर सेतोचिनी संकलन गरेका थिए । बारेकोटका पाटनरलेकबाट करिब १० करोड रुपैयाँको सेतोचिनी निकासी भएको उनले बताए ।

कार्ययोजना स्वीकृत नभएकाले डिभिजन वन कार्यालयले सेतोचिनी संकलन तथा निकासीका लागि इजाजत दिएको छैन । इजाजतबिना सेतोचिनीलगायत जडीबुटी संकलन तथा बिक्री गर्न मिल्दैन । अवैध रूपमा सेतोचिनी निकासी हुँदा लाखौंको सरकारी राजस्व चुहावट भएको छ । कार्यालयले कार्ययोजनामा प्रतिकिलो सेतोचिनीको पाँच रुपैयाँ राजस्व तोकेको छ ।

कार्यालयले चालु आर्थिक वर्षमा ५६ हजार किलो सेतोचिनी संकलन गर्न इजाजत दिने कार्ययोजनामा समावेश गरेको छ । वन पैदावार संकलन, वन संरक्षण, विकास, पूर्वाधार निर्माणलगायत कार्यका लागि पेस भएको कार्ययोजना वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत हुन नसकेको निमित्त डिभिजन प्रमुख नेपाली साह बताउँछन् । ‘कार्ययोजना वन विभागमै थन्किएको छ,’ उनले भने, ‘इजाजतबिना सेतोचिनी संकलन तथा निकासी गर्नु अवैध हो ।’ सेतोचिनी चोरीनिकासी रोक्न कार्यालयले वन प्राविधिक खटाएको उनले बताए । उनका अनुसार जनशक्ति अभाव, भौगोलिक विकटतालगायत कारण चोरी निकासी नियन्त्रणमा आउन सकेको छैन ।

वन प्राविधिकले बारेकोट गाउँपालिका–८ मा दुई हजार एक सय किलो, वडा ४ मा तीन हजार पाँच सय किलो र वडा २ मा एक हजार किलो सेतोचिनी बरामद गरेका छन् । त्यस्तै बारेकोट–४ मा पाँच सय किलो अमलवेद बरामद भएको कार्यालयले जनाएको छ ।
कार्यालयले स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहलाई स्वीकृतीबिना जडीबुटी संकलन तथा निकासी नगर्न पटक–पटक अनुरोध गरेको थियो । बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई सेतोचिनी संकलन र निकासीमा रोक लगाउन सुझाव दिएको साहले बताए ।
अवैध कर असुली
बारेकोट गाउँपालिकाले सेतोचिनीको संकलन र निकासीबापत भन्दै डेढ करोड रुपैयाँ कर असुलेको छ । गाउँपालिकाले संकलन गर्न जाने बारेकोटभित्रका स्थानीयसँग प्रतिव्यक्ति तीन सय र बाहिरकासँग पाँच सय रुपैयाँ प्रवेश शुल्क लिएको हो । त्यस्तै जडीबुटी खरिद र निकासी गर्ने व्यवसायीबाट दुई लाख रुपैयाँका दरले धरौटी असुलेको छ । व्यवसायीले दाउरा (इन्धन) बापत पाँच हजारका दरले गाउँपालिकामा थप रकम जम्मा गरेका छन् । संकलनपछि गाउँपालिकाले प्रतिकिलो सेतोचिनीको १० रुपैयाँ निकासी कर लिने निर्णय गरेको थियो ।

करिब ६ हजार व्यक्तिले प्रवेश शुल्कबापत रकम तिरेको गाउँपालिकाले जनाएको छ । ६२ जना व्यवसायीले दुई लाखका दरले धरौटी जम्मा गरेको बारेकोट गाउँपालिका अध्यक्ष शाहले बताए । व्यवसायीबाट कुल परिमाणका आधारमा धरौटी कट्टा गरी थप निकासी कर लिने निर्णय भएको उनले जनाए । ‘चोरीनिकासी नियन्त्रण गर्न नसकिने अवस्था आएपछि गाउँपालिकाको निर्णयअनुसार संकलन गर्न अनुमति दिइएको हो,’ उनले भने, ‘सेतोचिनी चोरी हुन थालेपछि संकलन पुर्जी पछि लिने गरी वन कार्यालय र गाउँपालिकाको सहमतिअनुसार उक्त निर्णय गरिएको हो ।’ सेतोचिनीबाट असुलेको डेढ करोड कर गाउँपालिकाको खातामा जम्मा भएको उनले बताए ।

गाउँपालिकाले लेकमै कर्मचारी खटाएर रकम असुलेको थियो । जडीबुटी संकलनका लागि असोज १८ देखि सर्वसाधारणलाई पाटन जान खुला गरिएको थियो । सशस्त्र प्रहरी र सेनाको ब्यारेक स्थापना नभएसम्म बारेकोटको जडीबुटी चोरीनिकासी नियन्त्रण गर्न नसकिने अध्यक्ष शाहले जनाए ।
जुम्ला–डोल्पातिर निकासी
बारेकोटबाट चोरीनिकासी भएको ५० मेट्रिक टन सेतोचिनी चाखुरे लेक पल्लोपट्टि जुम्लाको गोठीचौर गाउँपालिका–१, नापानीमा लुकाएर राखेको बारेकोट–५ का पृथीबहादुर नेपालीले बताए । मूल्यवान् जडीबुटीलाई गाउँपालिकाले जथाभावी संकलन गर्न दिन नहुने उनको भनाइ छ । जुम्ला र डोल्पाका स्थानीयले बीउसमेत नष्ट गरी सेतोचिनी संकलन गरेको उनले जनाए । ‘गाउँपालिकालगायत निकायले सेतोचिनीको चोरीनिकासीमा लापरबाही गरिरहेका छन्,’ उनले भने, ‘व्यावसायीले सेतोचिनी पकाउनका लागि धुपी, सल्लालगायत वनपैदावार समेत क्षति गरिरहेका छन् ।’

तीन सय क्विन्टल काँचो सेतोचिनीका गाना पकाएर सुकाउँदा ७०र८० क्विन्टल हुने स्थानीय बताउँछन् । यसरी गाना निकाल्दा सेतोचिनी लोप हुने जोखिम छ । विगतमा जथाभावी संकलन गर्दा पाटनमा पाइने भुत्ले, धुपजरी, कटुको, पाँचऔंले, पदमचाल्नो, जटामासी, निरमासी, सुनमासीलगायत जडीबुटी लोप भएको स्थानीयले जनाए । स्थानीयका अनुसार चोरीनिकासी भएको जडीबुटी जुम्ला हुँदै नेपालगन्ज जाने गरेको छ । डिभिजन वन कार्यालय जाजरकोटले ५६ हजार किलोभन्दा बढी सेतोचिनी संकलन इजाजत दिन नमिल्ने नेपालीले बताए ।

के हो सेतोचिनी 
सेतोचिनी उच्च लेकाली भूभागमा पाइने र जमिनमुनि गाना लाग्ने मूल्यवान् जडीबुटी हो । यसलाई स्थानीय भाषामा खिरौलो भनिन्छ । यसका सखरखण्डका जस्तै गाना हुन्छन् । ती गाना पकाएर र सुकाएर बिक्री गरिन्छ । चीनलगायत देशमा यसलाई औषधिका रूपमा प्रयोग गरिन्छ । आजको कान्तिपुर दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);