विखण्डनवादीका गतिविधिलाई सुक्ष्म ढंगले नियालेका छौं : नेपाली सेना | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

विखण्डनवादीका गतिविधिलाई सुक्ष्म ढंगले नियालेका छौं : नेपाली सेना

purna chandra thapa

काठमाडौं, २५ असोज । नेपाली सेनाले संविधान विरोधी विखण्डनवादी तत्वहरुको गतिविधिलाई सुक्ष्म ढंगले नियाली रहेको जनाएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले संविधान विरोधी विखण्डनबादी तत्वहरुले ल्याउन सक्ने सम्भावित सुरक्षा चुनौतिलाई नेपाली सेनाले सुक्ष्म ढंगले नियाली रहेको बताएका छन् ।

बिहीबार सैनिक जंगी अड्डा भद्रकालीमा पत्रकार सम्मेलन गरी उनले संविधानले सुम्पेको जिम्मेवारी पूरा गरी राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता सुनिश्चित गर्नु नेपाली सेनाको परम कर्तव्य भएको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान गरे ।

त्यस अवसरमा प्रधानसेनापति थापाले राष्ट्र निर्माण र विपद् व्यवस्थापनमा नेपाली सेनाले खेल्दै आएको भूमिका आगामी दिनमा अझै विश्वसनीय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानसेनापति थापाले सरकारको कानुनसम्मत आदेश र निर्देशनहरुको पालना गर्ने दायित्वबाट विचलित नहुने बताए । उनले नेपाली सेनालाई भनसुन, आफन्तबाद र निकटताको प्रभावमा पर्न नदिन पनि आफू सचेत रहेको स्पष्ट पारे ।

प्रधानसेनापति थापाले नेपाली सेनालाई वर्तमान र भविष्यको जिम्मेवारी पूरा गर्न सक्ने गरी सुदृढ, सक्षम र सफल संगठनको रुपमा स्थापित गराउन आफू लागि परेको बताए ।

प्रधानसेनापति थापाले गुण, दोष र कार्यक्षमताको आधारमा नेपाली सेनाका कर्मचारीहरुलाई अवसर दिने प्रणालीको विकास स्थापित गराउन आफूले काम सुरु गरेको बताए ।