निर्वाचनमा जाने निर्णयसँगै, राजपाले पायो चुनाव चिह्न | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

काठमाडौं, ९ भदौ । राष्ट्रिय जनता पार्टीले साइकल चुनाव चिह्न लिएर तेस्रो चरणको स्थानीय तह निर्वाचनमा भाग लिने भएको छ। पार्टी पदाधिकारी र अध्यक्ष मण्डलको बैठकले स्थानीय तहदेखि केन्द्रीय संसदसम्मका सबै निर्वाचनमा भाग लिने निर्णय लिएको हो।

 

संविधान संशोधन प्रस्ताव संसद्मा पारित हुन नसकेपछि राजपाले चुनावमा जाने रणनीति अख्तियार गरेको छ । बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बदलिएको परिस्थितिमा पार्टीले चुनावमार्फत जनताका बीचमा जाने निर्णय गरेको सुनाए।

 

‘संविधानमा हाम्रो असहमति छ, संविधानप्रति विरोध रहिरहन्छ, मुद्दा यथावत् छन्,’ ठाकुरले भने, ‘लक्ष्य प्राप्तिका लागि चुनावको उपयोगसँगसँगै शान्तिपूर्ण आन्दोलन पनि गरिरहन्छौं ।’ राजपाले उम्मेद्वार चयनका लागि प्रदेश नम्बर २ का ८ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउनेछ।

 

कार्यकर्ता र नेताबाट चुनावमा भाग लिनुपर्ने निरन्तरको दबाबले राजपा संविधान संशोधन पास वा फेल जे भए पनि चुनावमा भाग लिने निष्कर्षमा पुगेको हो । निर्वाचन आयोगले छाता चिह्न स्थानीय तह निर्वाचनका लागि दिन नसकिने जनाएपछि राजपाले साइकल चिह्नमा चुनावमा जाने निर्णय गरेको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।