बझाङ, १० असोज । साइपाल हिमालको काखमा आजकाल चहलपहल नै बेग्लै । साइपाल हिमाल चढ्ने आरोही हुन् या स्वदेशी पर्यटक, स्थानीय घरआँगनमा रमाइरहेका देखिन्छन् । पहिले होटल, लज खोज्ने पर्यटकलाई गाउँलेका होमस्टेले लोभ्याइरहेका छन् ।
साइपाल गाउँपालिका १ का मंगल बोहराको घर तिनैमध्ये एकमा पर्छ । उनको घरमा विभिन्न जिल्ला र विदेशबाट समेत पाहुनाहरू आउने गरेका छन् । उनको परिवारलाई पाहुनाको खानपान र बासको व्यवस्था मिलाउन भ्याइनभ्याई हुन्छ । पाहुनाको चाप बढे सँगै आम्दानी पनि बढेकै छ ।
‘कहिलेकाहीं त २५/३० जनासम्म पाहुना आउँछन्,’ मंगलले भने, ‘हाम्रो घरमा सुत्ने ठाउँ नभए अरू होमस्टेमा पठाउँछौं ।’ उनले चैतदेखि कात्तिकसम्म होमस्टेमा पाहुनाको चाप बढ्ने बताउँदै मासिक २० देखि ६० हजारसम्म कमाइ हुने गरेको बताए ।
मानसरोवर कैलाश जाने तीर्थयात्री, यार्सागुम्बुलगायत जडिबुटी संकलन र व्यापारका लागि आउने मानिसहरू तथा साइपाल आधार शिविर र अन्य ठाउँ घुम्नका लागि पर्यटक आउनेको संख्या बढेपछि भटाभट होमस्टे बनिरहेका हुन् । करिब एक दर्जनले होमस्टे सञ्चालनमा ल्याइसके ।
क्षेत्रफलका हिसाबले नेपालकै ठूलो साइपाल गाउँपालिका विकट भए पनि पर्यटकीय सम्भावनाको हिसाबले निकै नै धनी मानिन्छ । होमस्टेमा पाइने स्थानीय परिकारको मीठो स्वाद र न्यायो आतिथ्यताले गर्दा यहाँ आउने मानिसहरूको आकर्षण होमस्टेतर्फ बढेको सञ्चालकहरू बताउँछन् । ‘होमस्टेमा ठाउँ खाली नभए मात्र अरू होटलमा सुत्न जान्छन्,’ अर्का होमस्टे सञ्चालक माया बोगटीले भनिन्, ‘धेरैजसो त ठाउँ नभए पनि खाना यतै खाएर अन्त सुत्न जाने गरेका छन् ।’
होमस्टेमा स्थानीय कोदो, उवा र फापरको रोटी, गुराँसको दाल र च्यांग्राको सुकुटी धेरैले रुचाउने गरेको उनले जनाइन् । खाना र खाजाका रूपमा खाइने स्थानीय पकवानहरू लाउन, बाबर, बटुक, घार्या रोटो आदि पनि पाहुनाहरूको रोजाइमा पर्ने गरेको उनको भनाइ छ ।
साइपाल गाउँपालिकाको समृद्धिको मुख्य आधार होमस्टे भएकाले आफूहरूले यसको विकासका लागि कार्यक्रम बनाएको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र
धामीले बताए ।
साइपाल गाउँपालिकाको सुरुवात हुने ठाउँ जाइलेकदेखि अन्तिम बस्ती धुलीसम्म होमस्टे बनेका छन् । होमस्टेमा पाहुनालाई सहज होस् भनेर घर र साइपाल गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यहरूसम्म पुग्ने बाटो देखाइएको नक्सासमेत राखिएको छ । होमस्टे भएको घरमा सुत्ने छुट्टै कोठा, शौचालय, पानीको व्यवस्थापन, हातधुने ठाउँको व्यवस्था पनि राम्रो छ । कान्तिपुरमा खवर छ ।