डढे गाउँलाई बल्ल नयाँ नाम | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८२, सोमबार

डढे गाउँलाई बल्ल नयाँ नाम

hariyali gau

पाल्पा,१३ भदौ । तिनाउ गाउँपालिका–२, दोभानवासी घर कहाँ हो भनेर सोध्दा दिक्क मान्थे । गाउँको नाम भन्नै लाज लाग्ने गरेको दोभानका खगेन्द्र केसीले बताए । त्यही डढे गाउँ अब हरियाली गाउँका नामले चिनिन थालेको छ ।

‘आफू जन्मेको गाउँको नाम भन्नुपर्दा लाज लाग्ने गथ्र्यो,’ केसीले भने, ‘गाउँको नाम लिँदा मान्छेले कस्तो ठाउँ रहेछ भन्थे । अहिले नाम फेरिँदा सन्तुष्टि मिलेको छ ।’३७ वर्षअघि ‘डढे गाउँ’ नामकरण भएको थियो । २०३१ सालतिरबाट यहाँ बस्ती बस्न सुरु भएको हो । प्यूठान र बागलुङका मानिस आएर बस्ती बसालेका हुन् । यहाँ सुकुम्बासी र पुर्जा नभएका जग्गा धेरै छ । तैपनि ९० घरपरिवारको बस्ती बसिसकेको छ । यस गाउँको नाम सुरुमा आउनेले ‘ददे गाउँ’ राखे । ०३८ सालमा आगलागी भएर गाउँ नै सखाप भएपछि ‘डढे गाउँ’ नाम रहन गयो ।

गाउँको नाम परिवर्तन गर्ने प्रयास यसअघि पनि नभएको होइन । ०५९ सालपछि १६ वर्षसम्म नाम फेर्न चाहेर पनि सकेनन् । कर्मचारीको भरमा गाविस थियो । उनीहरूले यस्ता निर्णय गर्न सकेनन् । एक वर्षअघि स्थानीय तह निर्वाचन भयो । जनप्रतिनिधि पाएपछि धेरैपटक यस विषयमा चर्चा चल्यो । अहिले आएर गाउँलेको चाहना पूरा भएको छ । गाउँको नाम फेरिएको छ । गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती, उपाध्यक्ष दमयन्ती थापा, वडाध्यक्ष राजेश श्रेष्ठलगायतको उपस्थितिमा केही दिनअघि बृहत् गाउँ भेला बस्यो । सोही भेलामा गाउँको नाम परिवर्तनका विषयमा विभिन्न नाम प्रस्ताव गरिए । ‘हरियाली गाउँ नाम राख्दा राम्रो हुनेजस्तो लाग्यो,’ राजारानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण बोहराले भने, ‘यसैलाई सबैबाट सर्वसम्मत गराइयो ।’

दोभान बजारबाट १५ किलोमिटरको दूरीमा रहेको यस बस्तीमा पछिल्लो समय हरियाली छाएको छ । गाउँ जंगलको बीचमा छ । वडाकै दुर्गम गाउँमा बर्सेनि डढेलोले सताउँथ्यो । केही वर्षयता गाउँलेको पहलमा डढेलो पनि नियन्त्रणमा छ । ‘अहिले गाउँनजिक घना जंगल बनेको छ,’ स्थानीय अगुवा मधु जैसीले भनिन्, ‘त्यसैले पनि हरियाली गाउँ उपयुक्त लागेको हो ।’

स्थानीय बासिन्दाले सामुदायिक वनको आम्दानीबाट गाउँसम्मै बाटो पुर्‍याएका छन् । बिजुली पनि सामुदायिक वनकै आम्दानीले बलेको छ । बाख्रापालन, तरकारी खेती, फलफूल खेतीका साथै तेजपातको क्षेत्र बनाउने योजनामा वडा कार्यालय र गाउँपालिका लागिपरेका छन् ।

‘स्थानीय समुदायले गाउँको नाम फेर्न प्रस्ताव गरे,’ गाउँमै आयोजित एक साक्षात्कार कार्यक्रममा वडाध्यक्ष राजेश श्रेष्ठले भने, ‘नाम फेर्ने मात्र होइन, यहाँ अब सबैलाई आत्मनिर्भर बनाउनेतर्फ पनि अघि बढेका छौं ।’ उनका अनुसार अब गाउँपालिका र वडाबाट हुने सबै कार्यक्रम र योजनामा ‘हरियाली गाउँ’ नाम रहन्छ । अघिल्लो वर्ष यहाँका केही घरलाई भैंसी र बाख्रा खरिद गर्न नगद सहयोग गरेको उनले बताए । त्यसैले आगामी दिनमा यसलाई कृषि, पशुपालन, तरकारी खेतीका साथै तेजपातको पकेट क्षेत्र बनाउन सकिन्छ । डाँडाको बस्ती भएकाले पानीको केही समस्या छ । त्यसका लागि लिफटिङ खानेपानी योजना अघि बढेको छ ।

अहिले गाउँका सबै केही न केही आर्थिकस्तर उकास्ने काम गर्नुपर्छ भन्नेमा छन् । मोटरबाटो स्तरोन्नतिको माग गाउँलेको छ । वडाध्यक्ष श्रेष्ठले नुवाकोटतर्फबाट र दोभानबाट यहाँ मोटरबाटोले जोड्न बजेट विनियोजन भएको बताए । आजको कान्तिपुरमा पत्रिकामा खवर छापिएको छ ।