काठमाडौं, ३ भदौ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकमा संसोधन प्रस्ताव दर्ता गराएका संसोधनकर्ता सांसदहरुसंग छलफल गरेको छ ।
सिंहदरबारस्थित समितिको कार्यालय आईतबारमा बसेको समितिको बैठकले विधेयकमाथि संसोधन दर्ता गराएका संसोधनकर्ता सांसदहरुको धारणा बुझेको हो । संसोधनकर्ता सोमप्रसाद पाण्डेले कम्तिमा ३ बर्ष भित्र नेपालभरि चिकित्सा शिक्षा निशुल्क पढ्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । त्यसैगरी राजेन्द्र कुमार केसीले राजधानी काठमाण्डौमा कम्तिमा १० बर्ष रोकेर बाहिर मेडिकल कलेज खोल्न प्रोत्साहन गरिनुपर्ने बताए ।
संशोधनकर्ता विन्दा पाण्डेले आशयपत्र लिईसकेका चिकित्सा शिक्षा अध्ययन गराउने संस्थालाई विस्तारै नाफारहित शिक्षण संस्थाको रुपमा परिणत गर्दै ट्रष्टमा परिणत गर्नुपर्ने तर्क गरिन । उनँले चिकित्सा शिक्षा अध्ययनका लागि छुट्याईएको ७५ प्रतिशत निशुल्क सिट निम्न बर्गले पाउने सुनिश्चितता विधेयकमा नै गरिनुपर्ने धारणा राखे । संसोधनकर्ताहरुको भनाई पछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भुगोल र जनसंख्याको आधारमा शिक्षण संस्था खोल्नका लागि अनुमति प्रदान गरिने उल्लेख गरे ।
उनले शिक्षण संस्थाको गुणात्मकको विषयमा सरकारले कुनै पनि प्रकारको सम्झौता नगर्ने स्पष्ट पारे । समितिले आगामी बैठकमा चिकित्सा शिक्षाका सरोकारवाला निकाय, माथेमा आयोगका प्रतिनिधि, डाक्टर गोविन्द केसी, नेपाल मेडिकल काउन्सिल लगायत संग छलफल गर्ने भएको छ ।




