ललितपुर, १६ साउन । साउन १५ लाग्यो कि मोतीलाल राई आफ्नो जमाना सम्झिएर भावुक भइदिन्छन् । उनका कानमा बाँसुरी र मुरलीका ती धुनहरू गुन्जन थाल्छन्, जसलाई उनले त्यो थलो र उमेरसँगै छोड्दै गए ।
पूर्वी पहाड, खास गरी दूधकोसी र सुनकोसी गढतीरआसपासका किराती वाम्बुले राई रस्तीबस्तीमा यो दिनदेखि बाँसुरी बजाउने चलन रहेको सुनाउँदै उनी भन्छन्, ‘हाम्रो पालामा गाई, बाख्राको गोठालो गर्दै एकान्तमा बाँसुरी, मुरली र बिनायो खिप्ने चलन थियो ।‘साउन १५ देखि पाखापर्वत गुन्जाएर बाँसुरी बजाउने परम्परा थियो, तर अब नयाँ पुस्तामा त्यस्तो झल्को पाउन छाडिएको छ ।’एकाध वर्षयता चन्द्रमामा चाँदीको घेरा देखिन थालेको छ ।
यो लोकपरम्परा पुस्तान्तरण हुन नसक्ने देखिएपछि वाम्बुले राई समाज, नेपाल (वाम्रास) ले ‘बाँसुरी दिवस’ घोषणासहित निरन्तता दिँदै आएको छ । मंगलबार समाजले ललितपुरको महालक्ष्मी–१, इमाडोल नयाँ बस्तीमा दोस्रो पटक बाँसुरी दिवस मनायो । बडाजित राई, जीवन राई र विकास राई (सौगात) ले राम्दले, चाम्दो, लौलौ भाकामा बाँसुरी बजाए । मोतीलाल र विष्णु माइला राईले मादल बजाएर साथ दिए । उता ओखलढुंगाको हिलेपानी भञ्ज्याङ र उदयपुरको कटारी बजारमा सामूहिक बाँसुरी बजाएर दिवस मनाइएको वाम्रास अध्यक्ष गजुरधन राईले जनाए ।
‘हाम्रो परम्परा, लोकसंस्कृति पुस्तौंपुस्तासम्म निरन्तर रूपमा हस्तान्तर, पुस्तान्तरण गर्ने काम गौरवपूर्ण छ,’ अध्यक्ष राईले भने, ‘विकट गाउँमा जन्मेहुर्केका हामी मातृभाषाबाहेक नेपाली भाषा बोल्न नजानेर डोकोमुनि लुकेर बस्ने समुदायका मानिस हौं । अब पुर्खाको नासो सबै मिलेर जगेर्ना गर्नुपर्छ भनेर अघि बढेका हौं ।’कार्यक्रममा वाम्बुले भाषाका कोशकार अविनाथ राईले बाँसुरी लोकसंस्कृतिबारे अध्ययन, अनुसन्धान र दस्तावेजीकरण महत्त्वपूर्ण हुने बताए । पूर्व इन्स्पेक्टर भुवनसिंह राईले संस्कृतिले समाजलाई चलायमान राख्ने बताए ।
त्यसैगरी, किरात राई सांस्कृतिक कलाकार संघका अध्यक्ष जनक राईले पुर्खाले कृषि कर्म गर्दा बाजागाजा बजाउँदा समय खेर जाने भएकाले धान रोपाइँपछि मात्र बजाउन मिल्ने मान्यताको सिर्जना गरेको बताए । ‘मनोरञ्जन गर्ने परम्परा बाँसुरी परम्परा हो,’ उनले भने, ‘बर्खा मासमा काम गर्नुपर्छ भनेर असार–साउनमा काम गर्न नदिने पुर्खाले परम्परा बसाए । यसको संरक्षणमा जुट्नु सराहनीय छ ।’
लोकमान्यता
किरात समुदायमा सांस्कृतिक मौलिक बाजा ढोल, झ्याम्टा, चमर, सिकिरी आदि हुन् । मनोरञ्जनका साधनमा बाँसुरी, मुरली पर्छन् । किरात राई जातिभित्र २८ भाषा बोल्ने समुदाय छन् । तथ्यांकअनुसार, वाम्बुले (ओम्बुले) भाषा बोल्नेहरू १३ हजार ४ सय ७० जना छन् । युवा संस्कृतिकर्मी बडाजित राईका अनुसार, वाम्बुले राई समुदायमा साउने संक्रान्तिदेखि दुई साता भगवान् गुफा बस्छन् भन्ने मान्यता छ ।
‘त्यतिखेर नङ काट्न, कपाल काट्न हुँदैन,’ उनले सुनाए, ‘महिलाले कपाल कोरेमा भुइँमा नझारी घरको छानोमा सिउरिने चलन छ । ठूलो स्वरले कराउन हुँदैन । ठूलो आवाज आउन कुनै बाजागाजा बजाएर होहल्ला गर्न हुँदैन, देउता रिसाउँछन् भन्ने मान्यता छ ।’ त्यस अवधिमा मादललगायत बाजागाजा केही बजाइँदैनन् ।
साउन १५ लागेपछि कालोमैलो, अँध्यारो हट्छ भनिन्छ । त्यस दिनदेखि किराती वाम्बुले समुदायमा उल्लास छाउँछ । तन्नेरीले निगालो र मालिंगोको टुप्पोलाई बाँसुरी, मुरली खिप्ने र दार काठको ठेडी हालेर बजाउने गर्छन् । अँगेनोमाथि ध्वाँसे बलोमा या खोल्मो छानोमा सिउरिएर जतनसाथ राखेका बाँसुरी, मुरलीले यो दिनउता काम पाएझैँ हुन्छ । एकल वा जोर मुरलीमा घन्किन थाल्छ
बास्दै हयामु उङ ल्वाङ्मे
नाठोचे लिम्साक उङ ब्लाङ्मे
बस है फुपू म गएँ
अर्को साल फर्केर आउँला
‘हाम्रो परम्परालाई ब्युँताउने प्रयास जारी छ,’ सिंगापुर पुलिस फोर्सबाट अवकाशप्राप्त मोतीलाल भन्छन् । कान्तिपुरबाट