काठमाडौं, २ साउन । राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले क्रिकेट खेलबाट आफूले सन्यास लिने घोषणा गरेका हुन् ।
नेपालले पहिलो एक दिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ । सोही खेलमा भाग लिन जानु अघि उनले युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र खेलाडीहरुमाझ नेदरल्याण्डसँगको आफ्नो खेल नै अन्तिम हुने घोषणा गरे ।
नेपालले आगामी श्रावण १६ र १८ गते नेदरल्याण्डसमा एक दिवसीय क्रिकेट खेल खेल्नेछ । शक्तिका लागि यो नै नेपालको तर्फबाट अन्तिम प्रतियोगिता हुनेछ । शक्तिले नयाँ पुस्ताका खेलाडीहरु सक्षम भएकाले आफूले उपयुक्त समयमा सन्यास लिने निर्णय लिएको बताए ।
कार्यक्रममा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटले तय गरेको यात्रा शक्तिविना सम्भव नभएको प्रतिक्रिया दिए । उनले उच्चस्तरको पुरस्कार घोषणा गरेर शक्ति गौचनको सम्मान गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।