काठमाडौं, ३० असार । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले साउन १ गतेदेखि पूर्ण अनलाइन प्रणालीको परीक्षण कारोबार गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
पूर्ण अनलाइनको परीक्षण कारोबारका लागि धितोपत्र ब्रोकर कार्यालयहरूले मंगलबारदेखि लगानीकर्तालाई युजरनेम र पासवर्ड प्रदान गर्दै छन् । युजरनेम र पासवर्ड पाएपछि लगानीकर्ता आफैंले सेयर खरिद–बिक्रीका लागि अर्डर गर्न सक्नेछन् । तर, मंगलबारदेखि नै स्वचालित ढंगले सेयर खरिद–बिक्री भने नहुने स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मीले बताए ।
अनलाइन कारोबार आफैं गर्नका लागि लगानीकर्ताले केही समय पर्खनुपर्ने उनले बताए । स्वचालित ढंगले किनबेच नभए पनि लगानीकर्ताले अर्डर गर्न भने सक्ने उनको भनाइ छ । अनलाइन सिस्टम पूर्ण रुपमा कार्यान्वयनमा नआएसम्म पुरानै सिस्टमबाट कारोबार हुने बताइएको छ । नेपाल धितोपत्र बोर्डले अनलाइन कारोबार सुरु भएसँगै नेपालको पुँजीबजार नयाँ युगमा प्रवेश गर्ने दाबी गरेको छ ।