एजेन्सी, २२ असार । इरानसँग सन् २०१५ मा गरिएको परमाणु सम्झौता जोगाउन अष्ट्रियाको राजधानी भियेनामा संसारका ५ शक्तिशाली राष्ट्रबीच वार्ता भएको छ । अमेरिका उक्त परमाणु सम्झौताबाट अलग भएपछि वार्ताको आयोजना गरिएको हो । वार्तामा बेलायत, चीन, फ्रान्स, जर्मनी र रुसका शीर्ष राजनीतिज्ञहरुको सहभागिता रहेको छ ।
इरानसंगको बहुचर्चित परमाणु सम्झौताको भविश्य र गत ८ मेमा अमेरिकाले सो संझौताबाट अलग भएपछिको अवस्थाबारे सम्झौतामा आबद्ध राष्ट्रका विदेश मन्त्रीहरुसंग भियनामा छलफल भएको छ । बेलायत फ्रान्स रुस चीन र जर्मनी सामेल सो परमाणु सम्झौता सन २०१५ मा भएको थियो ।
शुक्रबार भएको बैठकमा इरानको अवस्था, सम्झौता कार्यन्वयनको पक्ष र त्यसका असरबारे विदेश मन्त्रीहरुसंग गहन छलफल भएको इरानका विदेशमन्त्री मोहमद जभाद जरिफले बताउनु भएको इरानको सरकारी न्यूज एजेन्सीले इरनाले जनाएको छ ।
विदेशमन्त्री जरिफले इरानको अधिकार संरक्षणका लागी युरोपियन युनियनले पनि जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउँदै सम्झौताको बुँदामा अडिग रहन सदस्य राष्ट्रहरुलाई आग्रह गर्नु भएको छ । युरोपेली संघले इरान सम्झौताको पालना गरेसम्म परमाणु सम्झौतालाई जोगाउनु पर्ने पक्षमा रहेका छन् ।
अमेरिकाले इरान विरुद्व आर्थिक नाकाबन्दीको घोषणा गरेर चारैतिरबाट घेराबन्दी गर्न खोज्नु राम्रो नरहेको इरानका अधिकारीहरुको भनाइ छ ।
राष्ट्रपति हसन रुहानीले पनि इरानलाई झुकाउन कसैले गलतबाटो लिन नहुने तर्क गदै आफु राष्ट्र र जनताको पक्षमा काम गरिरहेको दृढता ब्यक्त गरे ।