पोखरा, १६ असार । मासबारस्थित मदरल्यान्ड माविबाट यसपटकको एसईईमा ७ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । मासबारकी कृति बराल, कास्की धितालका प्रयास पौडेल, बिरौटाकी वर्षा बराल, सिरहा विष्णुपुरका रञ्जन यादव र पामेका राजेश अधिकारीले पनि ४ जीपीए ल्याए ।
यही विद्यालयमा नर्सरीदेखि पढाइ थाले पनि प्रयास २ कक्षादेखि प्रथम हुँदै आएका थिए । पढाइमा यति लगाब थियो कि शिक्षकले कक्षामा पढाएको कहिल्यै भुल्दैनथे । शिक्षकले भनेको सबै कुरा मान्थे । ‘अपेक्षा गरेको थिएँ, तर पनि परीक्षा हो, अपेक्षाअनुसार नहुन पनि सक्थ्यो भन्ने लाग्थ्यो,’ उनले भने, ‘नतिजा सोचेजस्तै आयो । योभन्दा खुसी अरू के नै हुन्छ र ।’
प्रिन्सिपल नारायण बराल विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउँदा विद्यालयलगायत सबै क्षेत्र खुसी हुनु स्वाभाविक रहेको बताउँछन् । विद्यालय, शिक्षक र विद्यार्थीको मिहिनेत र क्रियाशीलता, अभिभावकको सहयोग, पूर्वाधार, सिक्ने र सिकाउने वातावरण र विद्यार्थीलाई आवश्यक स्वतन्त्रता रहने गरी पढाइमा स्वामित्व लिने हैसियतलगायत कारणले यो नतिजा आएको उनको भनाइ छ ।
०५१ मा ५ जनाको पहलमा स्थापना भएको विद्यालयको विगतको एसएलसी (हाल एसईई) नतिजा राम्रो छ । विद्यालयमा नर्सरीदेखि विज्ञान र व्यवस्थापन विषयमा कक्षा ११ र १२ को पढाइ हुन्छ ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।




