खोटाङ, १६ असार । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्रे गर्न चरम ढिलासुस्ती भएको भन्दै एसियाली विकास बैंक (एडिबी) ले ठेकेदारप्रति असन्तुष्टि पोखेको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसी–बिजुले (१२ किलोमिटर), बिजुले–हुर्लुङ (१२ किलोमिटर) र हुर्लुङ–दिक्तेल (११.४३ किलोमिटर) खण्डको अनुगमनका क्रममा दातृ निकाय एडिबीको टोलीले सडक कालोपत्रे गर्न ढिलासुस्ती देखिएको भन्दै ठेकेदारप्रति असन्तुष्टि पोखेको हो ।
दुई वर्षमा पूरा हुनुपर्ने काम चार वर्षमा पनि सम्पन्न नभएको भन्दै एडिबीको अनुगमन टोलीले ठेकेदारलाई काममा ढिला भएको विषयमा प्रश्न गरेको स्रोतको भनाइ छ ।सडक विभाग, परामर्शदाता र निर्माण व्यवसायीसहित आएको एडिबी टोलीले कामले गति नलिए ठेक्का तोड्नेसम्मको चेतावनी दिएर फर्किएको छ ।
एडिबी टोली सबैभन्दा बढी बिजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल खण्डको ठेकेदारप्रति आक्रोशित देखिएको परामर्शदाता कम्पनी एमएसभी इन्टरनेसनल एन्ड सोइल टेस्ट जेभीका रेजिडेन्ट इन्जिनियर सुर्यप्रसाद ढकाले बताए।
मध्यपहाडी लोकमार्गको विभिन्न खण्ड समयमै कालोपत्रे नहुँदा स्थानीय आजित छन् । सडक कालोपत्रेका काममा ढिलासुस्ती गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा कारबाहीका लागि पठाएको ठेकेदारको सूचीमा समेत तीनवटै खण्डका ठेकेदारको नाम समावेश छ ।१२ जुन २०१६ मा सम्पन्न गर्नेगरी १४ जुन २०१४ मा हलेसी–बिजुले खण्ड कालोपत्रेको काम सुरु गरेको ठेकेदार कम्पनी लुम्बिनी–कन्काई–सूर्य जेभीले हालसम्म ८२ प्रतिशतमात्र काम पूरा गरेको छ ।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।




