काठमाडौं, २१ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतमा भ्रष्टाचार भएको उजुरी सबैभन्दा बढि परेको खुलासा भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकायमा सबैभन्दा बढि भ्रष्टाचार भएको उजुरी आएको खुलासा गरेका छन् ।
सोमबार काठमाडौंस्थित आयोगको केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी उनले त्यसमध्ये अस्थायी शिक्षक नियुक्तीमा भ्रष्टाचार लगायतका अनियमितता भएको उजुरी सबैभन्दा बढि रहेको बताए ।
शिक्षक नियुक्ती, भवन निर्माण, छात्रावृत्ति लगायतका अनुदान सहायताको रकममा अनियमितता हुने गरेको उजुरी सबैभन्दा बढि रहेको अख्तियारको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यसैगरी सामाजिक सुरक्षा भत्ता दुरुपयोगको उजुरी पनि उल्लेख्य रहेको अख्तियारले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत हालसम्म सबैभन्दा बढि ३ हजार ४४ वटा उजुरी परेको प्रवक्ता दंगालले जानकारी दिए ।
आयोगमा हालसम्म कूल १६ हजार ८ सय ८ वटा भ्रष्टाचार सम्बन्धि उजुरी परेको छ । त्यसमध्ये अघिल्लो आर्थिक वर्षको ७ हजार ७ सय १९ वटा रहेका छन् भने चालू आर्थिक वर्षको बैशाख मसान्तसम्मको ९ हजार ८९ वटा उजुरी परेका छन् ।
प्रवक्ता दंगालले हालसम्म भ्रष्टाचार सम्बन्धि करिव ५४ प्रतिशत उजुरी फस्र्याैट गरिएको पनि जानकारी दिए । अख्तियारले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि सबैलाई साथ दिन पनि आग्रह गरेको छ ।
प्रवक्ता दंगालले भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक सूचना उपलब्ध गराउन संचारकर्मीहरुलाई पनि आग्रह गरे । आयोगले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश स्तरीय गोष्ठी कार्यक्रम पनि सम्पन्न गरिएको जनाएको छ ।