काठमाडौं, १० जेठ । २२ सदस्यीय मन्त्रिपरिषद्का सबै सदस्यको सम्पति विवरण एकसाथ सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वेभसाइटमार्फत सार्वजनिक गरेको विवरण अनुसार मन्त्रीभन्दा मन्त्रीका पत्नी धनी देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको घरजग्गा सबै पत्नी राधिका शाक्यको नाममा रहेको छ । भक्तपुरको बालकोटमा डेढ रोपनी जग्गामा रहेका तीन तले दुवै घर पत्नीको नाममा रहेको प्रधानमन्त्री ओलीले सम्पति विवरणमा उल्लेख गरेका छन् ।
ओलीले ४२ लाख नगद भने आफ्नो नाममा बैंकमा रहेको उल्लेख गरेका छन् । यस्तै रक्षामन्त्री ईश्वर पोखरेलले पनि काठमाडौंको टोखामा २३ आना जग्गामा बनेको घर पत्नी मीराको नाममा देखाएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ २२ सदस्यीय मन्त्रिपरिषद्मा सबैभन्दा धनी देखिएका छन् । ललितपुरको भैंसेपाटीमा मात्र चार रोपनीभन्दा बढी जग्गामा अढाइ तले घर रहेका महासेठ र उहाँकी पत्नी जुली महतोका नाममा धनुषामा प्रशस्त जग्गा देखिएको छ ।
महासेठले आफ्नो नाममा ७२ लाख बैंक ब्यालेन्स तथा पत्नी जुलीको नाममा ४० करोडको शेयर रहेको उल्लेख गरेका छन् । बैंक ब्यालेन्सका आधारमा अर्थमन्त्री डाक्टर युवराज खतिवडा तथा सुनका आधारमा पर्यटनमन्त्री रविन्द्र अधिकारी धनी देखिएका छन् । खतिवडाको १ करोड ६० लाख बैंक ब्यालेन्स रहेकामा पर्यटनमन्त्रीले आफूसँग ६० तोला सुन रहेको उल्लेख गरेका छन् ।
महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा भने सबैभन्दा गरीब देखिएका छन् ।उनले आफूसँग एक तोला सुन, १५ हजार नगद तथा म्याग्दीमा ७ आना जग्गा मात्र रहेको उल्लेख गरेका छन् । गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री चक्रपाणी खनाल, शिक्षामन्त्री गिरिराजमणी पोखरल र खानेपानीमन्त्री बीना मगरले आफू र परिवारको नाममा काठमाडौं उपत्यकामा घरजग्गा नभएको उल्लेख गरेका छन् ।