नेकपाको केन्द्रीय समिति आज टुंगिने | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८२, आइतबार

नेकपाको केन्द्रीय समिति आज टुंगिने

nekapa

काठमाडौं, ७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय समितिको अन्तिम टुंगो सोमबार लगाउने भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रले भागबण्डाका आधारमा आ(आफ्नो तयारी पूरा गरी सोमबार निर्वाचन आयोगमा केन्द्रीय समितिको नाम बुझाउने तयारी गरेका हुन् ।

आयोगले नवगठित पार्टीसँग केन्द्रीय समितिमा रहने नेताको नामावली पठाउन ताकेता गरेपछि नेकपाले केन्द्रीय समितिको नाम सोमबार आयोगमा बुझाउन लागेको हो । ‘सोमबार हामी निर्वाचन आयोगमा केन्द्रीय समितिको सबै नामको टुंगो लगाएर पठाउँदैछौं, आयोगलाई केन्द्रीय समितिको नाम बुझाउँछौं’, नेकपाका नेता जर्नादन शर्माले भने ।

नेकपाले ३ जेठमा पार्टी एकता घोषणाअघि आयोगमा पार्टी दर्ताको निवेदन दिएको थियो । पार्टी केन्द्रीय समिति ४ सय ४१ सदस्यीय हुने जानकारीसहित अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललगायत शीर्ष नेताहरू आयोग पुगेर पार्टीको नामको पछाडि अन्डरलाइन राखी नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि निवेदन दिएका थिए ।

एमाले(माओवादी एकता गर्दा केन्द्रीय समितिमा पूर्ववत् एमालेका २ सय ४१ र माओवादीका २ सय सदस्य रहने गरी टुंग्याइएको थियो । त्यसअनुसार एमालेले पहिलेकै केन्द्रीय समिति यथावत् राखेर त्यसमा ४२ जना र माओवादीले पहिलेको सचिवालयका ८८ जनाको नाम राखेर १ सय १२ जनाको नाम टुंगो लगाउन बाँकी थियो । नेकपाले आयोगमा एमालेतर्फका १ सय ९९ र माओवादीतर्फका ८८ जनाको नाम बुझाएको थियो।
दल दर्तासन्दर्भमा आयोगले ४५ दिनभित्र निर्णय दिनुपर्ने भएकाले आइतबार पनि ताकेता गरेको हो । एमालेतर्फका अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल शनिबार अबेरसम्म बसेर नाम टुंगो लगाएका थिए भने माओवादीका तर्फबाट अध्यक्ष दाहालसहित सचिवालय सदस्यहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बसेर छलफल गरेका थिए ।

‘हामीले केन्द्रीय सदस्यहरू टुंगो लगाइसकेका छौं, खाली सेटिङमा राख्नमात्रै बाँकी छ’, नेता शर्माले भने, ‘केन्द्रीय समिति टुंगो लागेपछि स्थायी समिति सदस्य पनि लगभग टुंगो लगाएका छौं, सोमबारसम्म केन्द्रीय सदस्य र स्थायी सदस्यहरूको टुंगो लाग्छ ।’ आइतबार साँझ नेकपाको सचिवालयका नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । अध्यक्षद्वय ओली र दाहाल, वरिष्ठ नेता नेपाल, प्रवक्ता श्रेष्ठसहित नेताहरूले केन्द्रीय नेताको वरीयताकेन्द्रित छलफल भएको स्रोतको भनाइ छ ।

तत्कालीन एमालेबाट ४५ केन्द्रीय सदस्य थपिँदै

नेकपाको केन्द्रीय समितिमा तत्कालीन एमालेबाट ४५ जना सदस्य थपिने भएका छन् । तत्कालीन एमालेका २ सय ६ केन्द्रीय सदस्यमध्ये केहीले विभिन्न नियुक्ति पाएपछि सदस्यता खारेज भएको र केहीले पार्टी छाडेकाले ४५ जना नयाँ सदस्य थपिन लागेका हुन्।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालले नयाँ थपिने ४५ सदस्यको नाम टुंगो लगाएका छन् । तत्कालीन माओवादी केन्द्रबाट केन्द्रीय सदस्यको टुंगो लागेपछि मात्र तत्कालीन एमालेका थपिने सदस्यको नाम सार्वजनिक गरिने बताइएको छ ।

तत्कालीन एमालेबाट केन्द्रीय सदस्य हुनेमा नवप्रवेशी पनि छन् । स्रोतका अनुसार अर्थमन्त्री युवराज खतिवडा र सञ्चार राज्यमन्त्री गोकुल बास्कोटा पनि केन्द्रीय सदस्यको सूचीमा परेका छन् । खतिवडा यसअघि पार्टीको कुनै पनि कमिटीमा थिएनन् । खगराज अधिकारी, राजेन्द्र गौतम, नरेश खरेल, गुरु बराल, देवी ज्ञवाली, विष्णु रिजाल, भानुभक्त जोशी, केशवलाल श्रेष्ठ, अच्युत मैनाली, देवेन्द्र दाहाल, विनोद श्रेष्ठ, आनन्द पोख्रेल, बलराम बास्कोटा, डोरमणि पौडेल, कैलाश ढुंगेल र लीला भण्डारी तत्कालीन एमालेका तर्फबाट नेकपा केन्द्रीय सदस्यमा थपिँदै छन् ।

विमला घिमिरे, तिलकुमार मेयाङबो, महेश बस्नेत, वसन्त मानन्धर, विनोद ढकाल, महेश रेग्मी, गौरी वली, रामेश्वर फुयाँल, लक्ष्मण ज्ञवाली, चन्द्रबहादुर शाही, नरुलाल चौधरी, समिन अन्सारी, अइन्द्रसुन्दर नेम्बाङ, भीम कार्की, श्रीनाथ बराल, रवीन्द्र अधिकारी, निरजप्रसाद आचार्य, दिलु पन्त, रामेश्वर राना, दयालबहादुर शाही, एकबहादुर राना, शारदा सुवेदी, प्रमोदनारायण शाह, पुण्य गौतम, साध्यबहादुर भण्डारी, गोविन्दविक्रम शाह र कृष्ण राईलाई केन्द्रीय सदस्य बनाउने निश्चित भएको छ । आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।