स्वेज नहर हुँदै पूर्ण सञ्चालन पुनः शुरु गर्ने विषयमा इजिप्ट र मार्स्कबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८३, शुक्रबार

स्वेज नहर हुँदै पूर्ण सञ्चालन पुनः शुरु गर्ने विषयमा इजिप्ट र मार्स्कबीच छलफल

इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी र डेनमार्कको बहुराष्ट्रिय जहाजरानी तथा लजिस्टिक्स कम्पनी एपी मोलर–मास्र्कका प्रमुख कार्यकारी अधिकृत भिन्सेन्ट क्लर्कबीच स्वेज नहर हुँदै समुन्द्री यातायातको पूर्ण सञ्चालन पुनः शुरु गर्ने विषयमा छलफल भएको छ । इजिप्टको राजधानी कायरोमा बुधवार भएको भेटमा दुई पक्षबीच सहकार्य विस्तार तथा स्वेज नहर र लाल सागर हुँदै मास्र्कका जहाज सञ्चालनलाई पूर्ण रूपमा नियमित गर्ने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति सिसीले स्वेज नहर र लाल सागर हुँदै पुनः जहाज सञ्चालन गर्ने मास्र्कको निर्णयको स्वागत गर्दै उक्त जलमार्ग समुद्री यातायातका लागि सुरक्षित रहेको र त्यहाँ कुनै खतरा नरहेको बताएका छन् । भेटमा मास्र्कका प्रमुख कार्यकारी अधिकृत क्लर्कले इजिप्ट कम्पनीका लागि रणनीतिक साझेदार रहेको उल्लेख गर्दै पूर्वी भूमध्यसागर, मध्यपूर्व र अफ्रिकामा कम्पनीका गतिविधिका लागि महत्त्वपूर्ण केन्द्र भएको बताए । उनले विश्वव्यापी जहाजरानी सञ्जालका लागि स्वेज नहर अझै पनि प्राथमिकतामा रहेको मार्ग भएको उल्लेख गरे । क्लर्कका अनुसार कम्पनीले स्वेज नहर र लाल सागर हुँदै केही सेवा पुनः सञ्चालन गरिसकेको छ । आगामी केही महिनाभित्र उक्त मार्गमा आफ्ना सम्पूर्ण सञ्जाल र सेवा पूर्ण रूपमा पुनःस्थापना गर्ने तयारी भइरहेको उनले बताए । यसैगरी, मास्र्कले इजिप्टसँग बन्दरगाह सञ्चालन, लजिस्टिक्स, एकीकृत आपूर्ति श्रृङ्खला तथा पुराना जहाज पुनः प्रशोधन (रिसाइक्लिङ) का क्षेत्रमा सहकार्य विस्तार गर्न चासो देखाएको छ । स्वेज नहर एसिया र युरोपबीचको प्रमुख समुन्द्री व्यापारिक मार्ग हो । यस मार्ग हुँदै जहाज सञ्चालन नियमित हुँदा अन्तर्राष्ट्रिय व्यापार तथा विश्वव्यापी आपूर्ति प्रणालीमा सहजता आउने अपेक्षा गरिएको छ ।

Leave a Reply