केन्यामा पहिलो पटक बन्डिबुग्यो भाइरस डिजिज अर्थात इबोलाको संक्रमण देखिएपछि राष्ट्रपति विलियम रुटोले देशको स्वास्थ्य सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै आपत्कालीन उपायहरू लागू गर्न निर्देशन दिनुभएको छ । उक्त भाइरसका कारण एक जना केन्याली नागरिकको सोमवार राति मृत्यु भएसँगै सरकारले उच्च शतर्कता अपनाएको हो । राष्ट्रपति रुटोले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सुरक्षा परिषद्लाई तत्काल बैठक बसी थप सुरक्षा रणनीति तय गर्न निर्देशन दिनुभयो । मृतक व्यक्ति केही समयअघि डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा रहँदा बिरामी परेका थिए । उनी अक्टोबर २ मा कंगोको बेनी हुँदै युगाण्डाको राजधानी काम्पाला पुगेका थिए र अक्टोबर ३ मा हवाई मार्गबाट नैरोबी आइपुगेका थिए ।
विमानस्थल ओर्लिने बित्तिकै उनलाई आइसोलेसनमा राखिए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मृतकको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी कार्य तिब्र पारिएको छ । हालसम्म मृतकका परिवारका ८ सदस्यसहित उनीहरूको उपचारमा संलग्न २१ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको छ । यसका साथै, उनीसँगै विमानमा यात्रा गरेका २७ यात्रुहरूको पहिचान गरी निगरानी शुरु गरिएको छ । राष्ट्रपति रुटोले नागरिकहरूलाई धैर्य रहन आग्रह गर्दै सरकार कुनैपनि परिस्थितिको सामना गर्न तयार रहेको बताउनु भयो । केन्यामा मे महिनादेखि नै उच्च शतर्कता अपनाइएको थियो र हालसम्म ६ लाख ५२ हजार भन्दा बढी यात्रुहरूको स्वास्थ्य परीक्षण गरिएको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार बन्डिबुग्यो भाइरसको संक्रमण पुष्टि गर्ने केन्या चौथो मुलुक बनेको छ ।




