काठमाडौँ ।
कानून, न्याय तथा संसदीय मामिलानमन्त्री सोविता गौतमले लगानीको वातावरण सुधारका लागि कानूनी तथा प्रक्रियागत सुधार आवश्यक रहेको बताउनुभएको छ । नेपाल पूर्वाधार सम्मेलन तयारी सम्बन्धि लगानी र विकासका लागि कानून सुधार परामर्शको तीन दिने कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री गौतमले नेपालमा लगानी भित्र्याउनका लागि प्रक्रियागत झन्झट हटाउनुपर्ने बताउनुभएको हो । उहाँकाअनुसार ‘नेपालमा लगानी गर’ भनेर ठूला–ठूला कार्यक्रम गरे पनि प्रक्रिया नै बाधक भइरहे लगानीकर्ता आकर्षित हुँदैनन् । नेपालका लगानीकर्तासमेत लामो समयसम्म सहज वातावरण नपाए निरुत्साहित हुन सक्ने उल्लेख गर्दै उहाँले लगानी प्रक्रिया सहज, पारदर्शी र सबैका लागि अनुकूल बनाउनुपर्ने बताउनु भयो । नेपालको विकासमा निजी क्षेत्रलाई कसरी प्रभावकारी रूपमा समेट्ने र लगानीको वातावरण कसरी सहज बनाउने भन्ने विषयमा सरकार स्पष्ट रहेको मन्त्री गौतमले बताउनु भयो ।
सरकारले अबको विकासका पूर्वाधार तय गर्न स्पष्ट नीति लिएको बताउँदै मन्त्री गौतमले त्यसको आधारभूत पूर्वाधारका रूपमा कानुन निर्माणलाई लिएको बताउनु भयो । गौतमकाअनुसार कानून मन्त्रालयले चालु वर्षलाई ‘कानून सुधार तथा निर्माण वर्ष’ का रूपमा अघि बढाएको छ, आवश्यक कानून पहिचान गरी संशोधनको काम अघि बढाइसकिएको छ । पछिल्लो समय करिब ४६ वटा विधेयक संघीय संसद्मा दर्ता भएका छन् । तीमध्ये केही संसदीय समितिमा पुगेका छन् भने केहीमाथि छलफल भइरहेको छ । सरकारले अध्यादेशमार्फत पनि आवश्यक काम अघि बढाएको उहाँको भनाइ छ ।उहाँले अबको केही समयलाई आगामी अधिवेशनमा आवश्यक पर्ने कानून निर्माणको आधार तय गर्ने अवसरका रूपमा उपयोग गरिने बताउनु भयो । विभिन्न क्षेत्रबाट पहिचान गरिएका विषयलाई दस्तावेजीकरण गर्दै त्यसकै आधारमा आगामी दिनमा कानून निर्माण तथा संशोधनको प्रक्रिया अघि बढाइने उहाँले स्पष्ट समेत पार्नुभयो ।




