विश्वकर्मा पूजामा भद्रकालीसहित विभिन्न मन्दिरमा सवारी पूजा गर्नेको भीड | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

विश्वकर्मा पूजामा भद्रकालीसहित विभिन्न मन्दिरमा सवारी पूजा गर्नेको भीड

काठमाडौँ । विश्वकर्मा पूजाको अवसरमा आज काठमाडौं उपत्यकाका विभिन्न मन्दिर तथा पूजा स्थलमा सवारीसाधन पूजा गर्ने भक्तजनको भीड लागेको छ ।
बिहानैदेखि मानिसहरू आफ्ना मोटरसाइकल, स्कुटर, कार, ट्याक्सी तथा अन्य सवारीसाधन लिएर पूजा गर्न मन्दिर पुगेका छन् । विशेषगरी काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा गर्नेहरूको उल्लेख्य चहलपहल देखिएको छ । विश्वकर्मा पूजाका दिन सवारीसाधन, मेसिनरी, औजार तथा विभिन्न उपकरणको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहँदै आएको छ । आफ्ना सवारीसाधन सुरक्षित रहून्, दुर्घटना तथा अनिष्टबाट जोगिऊन् र व्यवसायमा सफलता मिलोस् भन्ने विश्वासका साथ चालक तथा सवारीधनीहरूले पूजा गर्ने गरेका छन् । मन्दिर परिसरमा पुरोहितहरूले विधिपूर्वक पूजा गरिदिने गरेका छन् । सवारीसाधनमा टीका, अक्षता, फूल तथा माला चढाउनुका साथै धूप–दीप बालेर पूजा गर्ने गरिएको छ । कतिपयले सवारीसाधनमा विश्वकर्माको प्रतीकस्वरूप पूजा सामग्री राखेर प्रसादसमेत ग्रहण गरेका छन् । विश्वकर्मा पूजाको अवसरमा यातायात व्यवसायी, चालक, मेकानिक, उद्योग तथा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकदेखि सर्वसाधारणसम्मले आफ्ना सवारी तथा औजारको पूजा गर्ने गरेका छन् । विशेषगरी वर्षभरि काममा प्रयोग हुने सवारीसाधन तथा मेसिनरीलाई पूजा गरी नयाँ ऊर्जा र शुभकामनासहित काम सुरु गर्ने परम्परा छ । विश्वकर्मालाई निर्माण, सीप, प्रविधि, औजार तथा मेसिनरीका देवताका रूपमा पूजा गर्ने भएकाले यस पर्वले धार्मिक आस्थासँगै श्रम, सीप र प्रविधिप्रतिको सम्मानलाई समेत जोड्ने गरेको छ ।

Leave a Reply

ताजा समाचार