‘बबिता पासवानलाई सडकमा पुर्‍याउनेमाथि कारबाही हुन्छ’–मन्त्री मेहता | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

‘बबिता पासवानलाई सडकमा पुर्‍याउनेमाथि कारबाही हुन्छ’–मन्त्री मेहता

काठमाडौँ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजमा अस्पतालबाहिरै बच्चा जन्माउन बाध्य भएकी बबिताकुमारी पासवानको घटनामा दोषी देखिएका चिकित्सक, नर्स तथा कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा सांसद श्रीकृष्णप्रसाद अधिकारीको प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयको टोलीले घटनाको स्थलगत छानबिन गरी प्रतिवेदन बुझाइसकेको जानकारी दिनुभएको हो । उहाँले प्रतिवेदनले औँल्याएका आधारमा आचारसंहिता उल्लंघन गरेको देखिएका चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित काउन्सिलमा पठाइएको बताउनु भयो । अस्पतालको जनशक्ति व्यवस्थापनसमेत कमजोर रहेको पाइएको भन्दै मन्त्री मेहताले गजेन्द्रनारायण सिंह अस्पतालमा ८० जना अस्थायी दरबन्दी थप गर्ने प्रश्तावमा अर्थ मन्त्रालयको सहमति भइसकेको र मन्त्रिपरिषद्मा प्रश्ताव लैजाने तयारी रहेको जानकारी दिनुभयो । थप सात चिकित्सकलाई समेत दुई वर्षका लागि अस्पतालमा खटाइएको उहाँले बताउनु भयो । मन्त्री मेहताले ‘सुरक्षित मातृत्व सुविधा होइन, हरेक आमाको अधिकार हो’ भन्दै कुनै पनि महिला प्रसव पीडामा स्वास्थ्य संस्थाको ढोकाबाहिर बस्नुपर्ने अवस्था दोहोरिन नदिने प्रतिवद्धता जनाउनु भयो ।
मन्त्री मेहताले सरकारी अस्पतालमा बिरामीको लामो लाइन र टिकटको समस्या समाधान गर्न अनलाइन टिकट, टोकन प्रणाली, डिजिटल सेवा र फास्ट ट्र्याक विस्तार भइरहेको पनि बताउनु भयो । उहाँकाअनुसार अस्पतालको सेवा प्रवाह अनुगमनका लागि मन्त्रालयले ४० सदस्यीय समिति गठन गरेको छ। विभिन्न सरकारी अस्पतालमा विस्तारित स्वास्थ्य सेवा (ईएचएस) सञ्चालन भइरहेको र वीर अस्पतालमा समेत ईएचएस सञ्चालनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । मन्त्री मेहताले डिजिटल सेवा र विस्तारित ओपीडीमार्फत बिरामीको चाप तथा प्रतिक्षा समय घटाएर सरकारी अस्पतालको सेवा थप सहज बनाउने मन्त्रालयको योजना रहेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार