उशु खेलाडीको एसियाड तयारी स् मेहनतसँगै पूर्वाधार र लगानीको चुनौती | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

उशु खेलाडीको एसियाड तयारी स् मेहनतसँगै पूर्वाधार र लगानीको चुनौती

कविना बलामी,काठमाडौँ । एसियाडका लागि नेपाली उशु खेलाडीहरू पदक जित्ने लक्ष्यसहित तयारीमा जुटेका छन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा गर्वका साथ फहराउने लक्ष्य बोकेका खेलाडीहरू नियमित प्रशिक्षणमा रहे पनि पर्याप्त लगानी, उपयुक्त प्रशिक्षणस्थल र आवश्यक खेल सामग्रीको अभाव भने चुनौतीका रूपमा देखिएको छ ।

उशु नेपालको खेल क्षेत्रमा विस्तारै आफ्नो पहिचान बनाउँदै गएको खेल हो। शारीरिक क्षमता, गति, सन्तुलन, अनुशासन र निरन्तर अभ्यास आवश्यक पर्ने उशुमा खेलाडीले विभिन्न प्रविधि र कौशल प्रदर्शन गर्छन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत प्रतिस्पर्धा गर्दै आएका नेपाली उशु खेलाडी अहिले एसियाडलाई लक्षित गरेर तयारी गरिरहेका छन्। एसियाडमा नेपालको प्रतिनिधित्व गर्दै पदक जित्ने लक्ष्यसहित खेलाडीहरू प्रशिक्षणमा व्यस्त छन्। उनीहरूका लागि यो केवल व्यक्तिगत सफलता हासिल गर्ने अवसर मात्र होइन, अन्तर्राष्ट्रिय खेलकुदको मञ्चमा नेपालको पहिचान स्थापित गर्ने अवसर पनि हो। त्यसैले खेलाडीहरू आफ्नो व्यक्तिगत कठिनाइलाई बिर्सेर देशका लागि उत्कृष्ट प्रदर्शन गर्ने तयारीमा छन्।

एसियाड अर्थात् एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली खेलाडीहरू तयारी अवस्थामा छन्। अन्तर्राष्ट्रिय स्तरको ठूलो प्रतियोगितामा देशको प्रतिनिधित्व गर्दै पदक जित्ने लक्ष्यसहित खेलाडीहरू प्रशिक्षणमा व्यस्त छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने र नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा गर्वका साथ फहराउने खेलाडीहरूको मुख्य उद्देश्य रहेको खेलाडीहरुले व्यक्त गरे। २० औँ एसियाडको तयारीमा रहेका नेपाली खेलाडीहरूले पर्याप्त लगानी, पूर्वाधार र प्रशिक्षणको अभाव अझै पनि चुनौतीका रूपमा रहेको बताएका छन्। खेलाडीको क्षमता र प्रदर्शन सुधार गर्न नियमित प्रशिक्षणसँगै आधुनिक खेल सामग्री, पर्याप्त अभ्यासस्थल, पोषण, स्वास्थ्य सुविधा तथा आवश्यक प्राविधिक सहयोग पनि उत्तिकै महत्वपूर्ण हुन्छ। तर यी सबै पक्षमा पर्याप्त ध्यान दिन नसक्दा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा अपेक्षित तयारी गर्न कठिनाइ भोग्दै आएका छन्। राज्यबाट लगानी भए पनि त्यो पर्याप्त नभएको खेलाडीहरूको गुनासो छ। तर आवश्यक साथ, सहयोग र उचित प्रशिक्षण पाउन सके पदक जित्न समस्या नहुने उनीहरूको विश्वास छ।

तर एसियाडको तयारी गरिरहेका खेलाडीहरूले पर्याप्त स्रोतसाधन, लगानी र प्रशिक्षणको वातावरण अझै चुनौतीपूर्ण रहेको बताएका छन्। प्रशिक्षकहरूका अनुसार सरकारले खेल क्षेत्रमा लगानी गरिरहेको भए पनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक पर्ने स्तरमा भने लगानी पर्याप्त हुन सकेको छैन। विशेषगरी प्रशिक्षणका लागि उपयुक्त स्थानको अभाव र एउटै खेलाडीलाई पटक–पटक फरक वा पुरानै प्रशिक्षणस्थलमा फर्काउनुपर्ने अवस्थाले खेलाडी तथा प्रशिक्षक दुवैलाई समस्या भइरहेको छ। खेलाडीले एकपटक राम्रो प्रशिक्षणस्थलमा अभ्यास गरेर आफ्नो तयारीलाई अगाडि बढाइसकेपछि फेरि पुरानै स्थानमा फर्केर प्रशिक्षण गराउँदा त्यसको प्रभाव प्रदर्शनमा पर्न सक्छ । विशेषगरी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिरहेका खेलाडीलाई एउटै स्तरको सुविधा र वातावरणमा निरन्तर प्रशिक्षण दिन आवश्यक छ ।

उशु खेलाडीहरू एसियाडमा नेपालको प्रतिनिधित्व गर्दै पदक जित्ने लक्ष्यका साथ कडा मेहनत गरिरहेका छन्। उनीहरूमा क्षमता र आत्मविश्वास भए पनि पर्याप्त लगानी, उपयुक्त प्रशिक्षणस्थल र आवश्यक सुविधाको अभाव अझै चुनौती बनेको छ। खेलाडीको मेहनतलाई राज्यको उचित सहयोग र व्यवस्थापनसँग जोड्न सके उशुबाट पनि नेपालले एसियाडमा गौरवपूर्ण सफलता हासिल गर्न सक्ने सम्भावना बलियो बन्न सक्छ।

 

Leave a Reply